थप १३ जनामा कोरोना संक्रमण पुष्टि, एकै दिन थपिए २४ संक्रमित

२९ वैशाख, काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका- ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका‍- ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । बर्दिया राजापुर नगरपालिका- ५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ । सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबारै सप्तरीमा पनि एक युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार साँझ थप १३ जनामा पुष्टि भएपछि नेपालमा एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ । रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको हो । बर्दियामा भने पहिलो पटक कोरोना संक्रमण देखिएको हो । सोमबार साँझ १३ जनामा पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ ।

जलवायु अनुकूलनका कार्यक्रम बजेटमा समेट्न आग्रह 

Previous articleचितवन फेरी जोखिममा; लकडाउनमा हिड्दै चितवनबाट सप्तरी पुगेका युवामा कोरोना संक्रमण
Next articleचितवनमा पुस्तक व्यवसायीको सिन्डिकेट, ग्राहकलाई छूट दिएको भन्दै व्यवसायीलाई दस हजार जरिवाना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।