हातखुट्टा घिसार्दै जीन्दगी लतार्ने शारदाको संघर्षको कहानी: कस्ले सुनिदेला, कस्ले बुझिदेला ?
आज भन्दा ७ बर्ष अगाडि ! तत्कालीन जिल्ला विकास समिति रुकुमको प्राङ्गणमा केटीहरुको भिडभाडको बिचमा देखिएको एउटा विचित्रको दृश्यले मेरो ध्यान तान्यो । दुबै हात जमिनमा टेकेर पुरै शरीर लतार्दै, घिर्सिदै हिड्ने मानिसको त्यो अवस्थाले मेरो मात्र हैन धेरैको ध्यान खिचिरहेको थियो । असह्य शारिरीक पीडा बोकेर शरीरलाई ढुंगा र माटोमा लतार्ने भविष्यका सूनौला सपना बोकेर जिल्ला सदरमुकाम मुसिकोट आएकी थिईन,उनी अर्थात २६ बर्षीया शारदा शर्मा ।
करिब ४० किलोमिटर जंगल र भिरको बाटो खुट्टाका घुँडा र हातका पन्जाले थिचोल्दै जिल्ला विकास समिति रुकुममा आईपुगेकि थिईन उनी । त्यतिबेला जिविसमा महिलाहरूको लागि निःशुल्क खरीदार पदको टिउसन पढ्नेहरुको लागि प्रवेश परिक्षा हुदै थियो । त्यसैमा सहभागी हुन अशक्त शरिर घिसार्दै अत्यन्तै कष्टका साथ निकै टाढा रहेको पश्चिम खोलागाउँवाट मुसिकोट खंलगा पुगेकि रहेछिन शारदा ।


जिविसकै प्रांगनमा आएको बेला उनीलाई एउटा फोन आयो । फोनमा पाएको सान्त्वना र ढाडसले शारदाको मुहार अलि परिवर्तन भयो । बुझदै जाँदा त्यो फोन गर्ने तत्कालीन रुकुम जिल्लाका प्रहरी प्रमुख डिएसपि हाल एसपि किसन सिह थापा हुनुहुँदो रहेछ ।मेरो सोधिखोजी पछि डिएसपी थापाले मलाई उक्त शारदा बहिनिको बारेमा सबै बताउनुभयो बेला बेला उनलाई पढाई खर्च समेत सहयोग गर्दै आउनु भएका थापाको समन्वयमा शारदा सग मैले भेट गरे ।
म त्यति बेला अन्नपूर्ण राष्ट्रिय दैनिक र दि हिमालयन टाइम्समा संवाददाता थिए । मैले उनको संघर्षबारे स्टोरि तयार गरेर प्रकाशनका लागि पठाए । स्टोरी छापिए पछि विभिन्न ठाउँवाट आएको रकमले उनलाई केही सहयोग पनि भयो ।
हात खुट्टा जमिनमा घिसार्दै जिन्दगीमा सरकारी सेवा गर्ने लगायतका अरु थुप्रै जीन्दगीका सपनाहरु लिएर संघर्ष गरिरहेकी उनका लोभलाग्दो रहरहरु सुनाईन । कति हो कति पीडा मनमा थिए होलान, दुबै खुट्टाले काम गदैनन् । उनि जन्मजात अपांग हुन । तर पनि अदम्य शाहसका साथ उनले गरेका संर्घषहरु कयौँ युवाहरुका लागि प्रेरणादायी थिए ।जन्मजात दुवै खुट्टा नचलेपछि शारदालाई हिडन नमिल्दो रहेछ ।

दुई हातमा चप्पल लगाएर हात खुट्टा टेक्दै दुई दिन लगाएर भविस्यको खोजी गदै कहिले सदरमुकाम र कहिले घर, कहिले गाविस कार्यालय ! लोकसेवाको परीक्षाका लागि कहिले दाङ कहिले काठमाडौ । शारिरीक समस्यासंगै उनलाई आर्थिक समस्याले पनि उत्तिकैै सताएको थियोे । गरिब परिवारमा हुर्केकी शारदाको घरमा बुवा पनि शारदा जस्तै अपागं हुनुहुन्थ्यो ।
दैनिक आवश्यकता पुरा गर्न सधै जसो समस्या नै थियो । गरिव परिवार भित्रको शारारिक समस्याले परिवारमा नै निकै ठुलो तनाब ।शारदाका कैयौ सपनाहरु ति गरिवीका हावा हुरीले पटक पटक उडाई दिएका छन । सपना भित्रका पीडाहरुमा सामाजिक रुपमा गरिने कतिपय ब्यबहारले दुखेका मनहरु उनले जीन्दगीमा भोगेका कठिन चुनौतिहरु हुन ।
यसरी हात र खुट्टाको सहायतामा बामे सरेर धेरै हिड्दा शारदालाई शारीरिक रुपमा निकै समस्या हुन्थ्यो । दिनभरीको शारारिक घिसाईले रातभरी जीउ दुखेर सुत्न समेत कठिन थियो । शारारिक हिसावले उनी ह्विलचियरमा हिड्नु पर्ने हो । तर भौगोलिक विकटता र आर्थिक अभावले संभव भैदिएन ।
वर्षभरीको झरी र हिउद भरीको चिसो सिरेठोेले शारदालाई निकै पिडा हुन्थ्यो । पानीको झरीमा ओत लाग्ने अवस्था नै हुदैन्थ्यो । वर्षामा पानीले रुझाएर समस्या, हिउद लागेपछि पहाडको जाडोले सताउथ्यो । साधारण कपडा किन्न समेत पैसा नहुने शारदाका लागि न्यानो कपडा त चाहाना मात्र हुन्थ्यो । बजारभरी बेच्न राखिएका न्यानो कपडा हेरेरै चित्त बुझाउनु वाहेक अरु कुनै विकल्प नै थिएन शारदाका लागि ।

गरिबी र अभावको पीडाका विचको कठोर संर्घष सायद शारदा लाई मात्र थाहा छ । जीन्दगीमा बिरलैले मात्र भोग्ने यो पीडा शारदाले निरन्तर भोगिरहेकी छन । हामीले गरेको सानो मानवीय सहयोगले उनलाई सामान्य राहात मात्र भएपनि अन्य दिनहरु त कष्टकर नै थिए । अनेकौं पिडाका विच उनीले गर्दै आएको संघर्षको चुनौतिपुर्ण कठिन यात्रा अझै सम्म पनि जारी छ ।
सदरमुकाम आएपछिका शारदाका कयौ रातहरु भोकै वितेका थिए । दिनभरीको हिडाई, दुखेका जिउ र भोको शरिरले अथाह पिडा भोग्दै आएको छ । यि नै पीडाहरुमा मलम लगाउन कहिलेकाहि सहयोग गर्ने डिएसपी किसनसिंह, तत्कालिन जिविस रुकुमका स्थानीय विकास अधिकारी भतकुमार शर्मा र अन्य केही सम्मानित ब्यक्तिहरु थिए ।
समय क्रमिक रुपमा धेरै कुरा परिर्वतन भए । डिएसपी थापा सगै सबै जिल्लाका हाकिमहरु पनि फेरिए । त्यसपछि शारदाका दिनहरु अझ कष्टकर र चुनौतिपुर्ण बने । मैले पनि विस्तारै जिल्ला हुदै देश छाडे । शारदा सँगको कुराकानी टुट्यो । त्यसपछि उनी क्रमशः सबै सहयोगीको सम्पर्क बाट टाढा बनिन ।

पाँच बर्ष पछि फेरि गएको चैत ४ गते उनीसंग कुराकानी भयो । म नेपाल पुगेको कुरा थाहा पाए पछि उनले फेसबुकमा सर्च गरि सम्पर्कमा जोडिइन ।हाल उनी किर्तिपुरको बिआए फाउन्डेसनमा बसेर विषेश शिक्षामा मास्टर डिग्री पढदै रहेछिन । यो बिचमा उनले थुप्रै चुनौति र संघर्षहरुका गोरेटाहरु पार गरिछन । उनले सात बर्षको विचमा भोगेका अनेकौ कष्टहरुका घटनाहरु सुनाईन ।
कतिपय ती कष्टकर घटनाहरु अरुलाइ नभन्ने सर्तमा मात्रै सुनाएकि थिइन । अझ कति धेरै पीडाहरु अब्यक्त छन् उनका । जागिरको लागि पाएका दुख, यो विचमा दैनिकी चलाउन भएको चरम आर्थिक संकट, एक ठाउँबाट अर्को ठाउँमा जाँदा घिस्रिनु पर्ने शारारिक बाध्यताहरुका अनेकौ उनका पीडाहरु त छदै थिए, त्यसमा पनि घरमा बुवाको निधन भए पछि उनीमा झन पीडाका घटनाहरु थपिएका छन ।
शारदा जस्तै गरिबी, अभाव र शारीरिक समस्या भोगिरहेका उनका वुवाले छोरी शारदाको सपना पुरा भएको देख्न पाउनु भएन । गरिविसंगै शारीरिक पीडा भोगिरहेकी उनलाई यतिवेला पारिवारिक अवस्थाले समेत चुनौति थपिदिएको छ । एउटा वावुको अभिभावकत्व गुमाएकि छन् उनले ।
संकटका आधी हुरी निरन्तर आईरहेपनि संघर्षको यात्रा सकिएको छैन । पीडाका आधिबेरीले बारम्वार उनका खुसिहरुलाई ढाकिदिएका छन् । पारिवारिक विछोडसंगै वषौ देखि भोग्दै आएको गरिवी, अभाव र शारीरिक समस्या नजिकै बसेर सुनेर उनलाई साहस र थप हौसला थपिदिने मेरो चाहना अहिलेको लकडाउनले सम्भव हुन दिएको छैन ।
शारदासँग भेट्न र संकटमा केहि सहयोग गर्ने मेरो योजना पनि यो लगडाउन चुनौति बनेको छ । पीडाको पहाड बोकेर बाँचेकि उनको यो ब्यधा र बाध्यता सुनिदिने र बुझिदिने मनहरुले उनलाई केहि त सहयोग गर्न सकौला नि ? आदर्श केसी/हाम्रा खबर


