पुर्व अर्थमन्त्री तथा सांसद सुरेन्द्र पाण्डेको पहलमा पूर्वी चितवनमा बिकासको लहर: ५० योजनाका लागी करोडौ रकम आयो
भरतपुर । चितवन निर्वाचन क्षेत्र नं १ का सांसद् एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको पहलमा आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि संघ र प्रदेशबाट ५० वटा योजनाहरु छनोट भएका छन् । पाण्डेको निर्वाचन क्षेत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक पूर्वाधारअन्तर्गत चेपाङ मार्ग (ठोरी–भण्डारा–लोथर–मलेखु) सडक निर्माणका लागि १० करोड २० लाख रूपैयाँ विनियोजन भएको छ ।
तराई मधेस सडक पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत पर्सा (खैरहनी)–लालसलाम गेट सिद्धिपुरसम्म सडक निर्माणका लागि ४० लाख रूपैयाँ, कठार बडगाउँ–खैरहनी फुलबरिया–राप्ती भण्डारा सडकका लागि ४० लाख रूपैयाँ, राप्ती नदी रिङरोड (पिप्ले–सौराहा–टिकौली–मणिखोला पार्क हुँदै उत्तराखण्ड ब्रह्मनगर–भण्डारा) सडकका लागि २ करोड ४० लाख रूपैयाँ विनियोजन भएको छ ।

त्यस्तै, महेन्द्र हाइवे जम्कौली फसेरा–फसेर्नी हुँदै सौराहा सडकका लागि ४० लाख रूपैयाँ, हर्दी–चिप्लेटी सडकका लागि ४० लाख रूपैयाँ, राप्तीको नयाँ भण्डारा हेल्थपोस्टदेखि शिरकोट अभियान चोक–अमिली पानी सडकका लागि ४० लाख रूपैयाँ, सिद्धिपुर (खैरहनी नपा–४) राई चोक–लाफा टोल–गैँडे आहाल–पिठुवा दोबाटो, तिलक बहादुरको चोक–मिस्र चोक–भट्ट चोक–खोलेसिमल सडकका लागि ४० लाख रूपैयाँ, रत्ननगर निपनी चोक–बाघमारा दोभान सौराहा सडकका लागि ४० लाख रूपैयाँ र बैरेनीबाट (खैरहनी नपा) पाक्डिवास (उत्तर जंगलछेउ) सडकका लागि ४० लाख रूपैयाँ विनियोजन भएको छ ।

रणनीतिक पुल निर्माण योजनाअन्तर्गत कयर खोला पुलका लागि ५० लाख रूपैयाँ र स्थानीय सडक पुल निर्माण योजनाअन्तर्गत राप्ती–६ को पम्फा खोला पुल निर्माण गर्न १ करोड, खैरहनी–९ को च्यात्रा खोला (उत्तराखण्ड) पुल निर्माण गर्न ४७ लाख ५० हजार, विरेन्द्रनगरको पम्पा खोलामा पुल (चिप्लेटी पुल) निर्माण गर्न ७ लाख, पम्पा खोलामा पुल (राप्ती नपा–६ र १० जोड्ने) पुल निर्माण गर्न ४७ लाख ५० हजार रूपैयाँ विनियोजन भएको छ ।

राप्ती नपा–११ को च्यात्रा खोला पुल निर्माण गर्न ४७ लाख ५० हजार, खैरहनी नगरपालिकाको कुमरोजमा गोबइघाट पुल निर्माण गर्न १ करोड, झवानीघाट पुल निर्माण गर्न ४७ लाख ५० हजार, खैरहनीको मगनी पुल निर्माण गर्न ४७ लाख ५० हजार, खैरहनीको नमुना पेट्रोल पम्पबाट सुल्तनी गाउँ जाने बाटोमा पम्पा खोला पुल निर्माण गर्न ४७ लाख ५० हजार, कठारमा ढुङ्ग्रे खोला पुल निर्माण गर्न ४७ लाख ५० हजार, बूढीराप्ती महेन्द्र राजमार्ग पुरानो एलाइमेन्टका लागि १ करोड, रत्ननगर–३ बेल्सी–बन्सी कयर खोला पुल निर्माण गर्न ४७ लाख ५० हजार र रत्ननगर–१६, हात्तीगाडे–कुनाघारी कयर खोला पुल निर्माण गर्न ४७ लाख ५० हजार रूपैयाँ विनियोजन भएको छ ।

पाण्डेको निर्वाचन क्षेत्रमा विभिन्न पुलहरुको विस्तृत सम्भाव्यता अध्ययन गरिने भएको छ । रत्ननगर–१४ नयाँबस्तीबाट खैरहनी नपाको सिमलघारी जोड्ने (कयर खोला पुल), खैरहनी नपा उत्तराखण्ड सडकको लदरा पुल, रत्ननगर–९ सिसैबाट कपरखोरी जोड्ने खगेरी खोला पुल र चेपाङ मार्गको थाकलटारमा पुल निर्माणका लागि अध्ययन गरिने भएको हो ।

स्वास्थ्य मन्त्रालयअन्तर्गत खैरहनी स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पतालमा स्तरोन्नति (अस्पताल भवन निर्माण) गर्न ४ करोड ७८ लाख रूपैयाँ र ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गत पूर्वी राप्ती लोथर–सौराहा कंक्रिट डाइक निर्माण आयोजनाका लागि ४ करोड र शक्तिखोरदेखि सौराहासम्म कयर खोला तटबन्ध निर्माण कार्यका लागि ५ करोड ५७ लाख रूपैयाँ विनियोजन भएको छ ।
सहरी विकास मन्त्रालयअन्तर्गत रत्ननगर सभाहल क्रमागतका लागि ५० लाख, सौराहा सभाहलका लागि ५० लाख, रत्ननगरको शहीद स्मृति क्याम्पस चोकबाट एकनाथ रानाभाटको घर हुँदै गुरूङ टोल–गोरखाली चोक–भण्डारी चोक हुँदै चर्च हाउस सडक स्तरोन्नति गर्न १ करोड, टाँडी चोकबाट सुब्बाचोक–डुम्रीचोक–९ नं चोक हुंँदै घोलको कल्भर्ट (कालिका नपा) सडक स्तरोन्नति गर्न १ करोड रूपैयाँ विनियोजन भएको छ ।

त्यस्तै, रत्ननगर नगरपालिकामा सडक, ढललगायतका एकीकृत सहरी पूर्वाधार विकास कार्य गर्न १ करोड, राप्ती, खैरहनी नपा, रत्ननगर नपा र कालिका नपाको एकीकृत सहरी पूर्वाधार विकास कार्य गर्न १ करोड, रत्ननगर–खैरहनी एकीकृत सहरी पूर्वाधारको डिपिआर तयार गर्न ५ लाख, राप्ती, खैरहनी, रत्ननगर र कालिका नपाको विस्तृत एकीकृत सहरी भौतिक विकास योजना तयार गर्न २० लाख रूपैयाँ छुट्टयाइएको छ ।
बागमती प्रदेशबाट जनता आवास कार्यक्रम (क्रमागत)अन्तर्गत २०० वटा घर निर्माण गरिने छ । संघीय मामिला मन्त्रालयको तराई मधेस समृद्धि कार्यक्रमअन्तर्गत फसेरा–फसेर्नी तटबन्ध र खैरहनी–५ मा कुलो निर्माण गर्न २५ लाख, खैरहनी–४ मा बोरिङ निर्माण गर्न २५ लाख, खैरहनी नगरपालिकाका विपन्न परिवारलाई लक्षित गरी सञ्चालन गरिने कार्यक्रमका लागि २ लाख, रत्ननगर–५ मा दृष्टिविहीन छात्रावास भवन निर्माण गर्न २५ लाख, राप्ती–१ को परेवाकोट–थाकलटार सडक निर्माण गर्न ३० लाख, राप्ती–७ थ्री ग्रुप आमा समूहको सामुदायिक भवन निर्माण गर्न २५ लाख रूपैयाँ विनियोजन भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रत्ननगर–११ मा मणिखोला पर्यटकीय पार्क बनाउन १२ लाख, राप्ती–९ मा पिपुल्स पार्क निर्माण गर्न १२ लाख, राप्ती–१ मा इको पार्क निर्माण गर्न १२ लाख र राप्तीको कामिङचुली पर्यटन पूर्वाधार निर्माण गर्न ५० लाख विनियोजन गरिएको छ । चितवन पोष्ट दैनिक बाट


