चितवन जिल्लाको राप्ती नगरपालिका–२ सिमराचोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। आज बुधबार साँझ करिब ६:३० बजे बा.प्र.०२–०५६ प १११५ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिँदा रौतहट जिल्ला माधव नारायण नगरपालिका–८ बस्ने २४ वर्षीय रुपेश राय यादव गम्भीर घाइते भएका थिए।
घाइते यादवलाई तत्काल उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर पुर्याइए पनि उपचारको क्रममा साँझ ७:४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त स्कुटर चालक राप्ती नगरपालिका–२ का १८ वर्षीय दिपेश गौतम पनि दुर्घटनामा घाइते भएका छन्।
उनको नाक र टाउकोमा चोट लागी मध्यम घाइते भएको र हाल पुरानो मेडिकल कलेज, भरतपुरमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ।

