चितवन, असोज ४ — चितवनको खैरहनी नगरपालिका–११, गैंडाहास्थित एक घरमा लुकिछिपी जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ।
मिति २०८२ साल असोज ४ गते राति करिब १२ः३० बजे इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले उक्त जुवातास खेल्ने समूहलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूको साथबाट रु. १,५०,७२० रुपैयाँ नगद र ५ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जुवातास खेलिरहेको सूचनाको आधारमा खटिएको टोलीले घटनास्थलमा पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ।

