Home Uncategorized टांडी चोकमा प्रविधि जडित आकासे पुल निर्माणको काम तीव्र

टांडी चोकमा प्रविधि जडित आकासे पुल निर्माणको काम तीव्र

टांडी चोकमा प्रविधि जडित आकासे पुल निर्माणको काम तीव्र

रत्ननगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिकाको टाँडीचोकमा निर्माणाधीन आकासे पुलको काम तीव्ररुपमा भइरहेको छ । लिफ्टसहितको सो आकासे पुलको ७० प्रतिशत काम सकिएको नगरपालिकाले जनाएको छ । रत्ननगर नगरपालिकाले गौरवको आयोजनाअन्तर्गत चितवनमै पहिलोपटक आकासे पुलको निर्माण थालेको हो । नेपालमा लिफ्टसहितको आकासे पुल छैनन् ।

सो नगरले प्रविधि जडान गरेर आकासे पुल निर्माण गरिरहेको छ । रत्ननगरले लिफ्टसहितको सो आकासे पुललाई नेपालकै पहिलो नमुना आकासे पुल भनेको छ । जगको काम सबै सकिएको छ । पुलको काम ७० प्रतिशत सकिएको नगरपालिकाले जनाएको छ । पुलका लागि चाहिने सबै सामग्रीहरु ल्याइसकिएको छ । स्टील संरचनाबाट निर्माण गरिने भएकाले अबको डेढ महिनाभित्र पुल निर्माणको काम सकिने नगरपालिकाका इन्जिनियर पंकज गिरीले जानकारी दिए ।

दसैँअगाडि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले बताए । राजमार्गको उत्तरतर्फ नेपाल मावि रोड र दक्षिणतर्फ सिनेमा हल रोडबाट आवतजावत गर्न मिल्ने गरी पुल निर्माण गरिएको छ । आकासे पुल ४० मिटर लम्बाइ र साढे ५ मिटर उचाइमा बनेको छ । प्रदेश सरकारको एक करोड र रत्ननगर नगरपालिकाको एक करोड ८२ लाख गरी २ करोड ८२ लाखको लगानीमा रत्ननगरमा आकासे पुल निर्माण भइरहेको छ । हिम सगरमाथा कन्स्ट्रक्सन प्रालिले पुल निर्माणको काम गरेको हो ।

रत्ननगर नगरपालिकाले सवारी दुर्घटना न्यूनीकरण र टाँडी बजारलाई सुन्दरता प्रदान गर्न मेयर नारायण वनको विशेष पहलमा यहाँ आकासे पुल निर्माण सुरू भएको हो । अपाङ्गता भएका व्यक्तिहरुलाई पनि आवतजावतमा सहज होस् भनेर रत्ननगरले नेपालमै पहिलोपटक आकासे पुलमा लिफ्ट राख्न थालेको हो । लिफ्ट २ करोड ८० लाखभित्र पर्दैन । नगरपालिकाले छुट्टै लगानी गरेर लिफ्ट तयार गर्ने योजना बनाएको छ ।

पुल निर्माण स्थलमा बिजुलीको पोल भूमिगत गर्ने योजना रहेको छ । पूर्वतर्फ ५० मिटर र पश्चिमतर्फ ५० मिटर बिजुलीको पोल भूमिगत गरिने छ । सो काम नेपाल विद्युत् प्राधिकरणले गर्नेछ । पोल भूमिगत गर्ने काम आज मंगलबारबाट सुरू हुने प्राधिकरणले जनाएको छ । पुल निर्माणमा प्रविधिको प्रयोग गरिएको छ । स्टील संरचनामा प्रविधिको प्रयोग गरेर पुल निर्माण गरिएका कारण काम समयमै सकिने मेयर वनले बताए ।

आकासे पुलले दुर्घटना न्यूनीकरणसँगै बजारलाई सुन्दरता प्रदान गर्ने उनले बताए । ‘हाम्रो नगरपालिका सहरीकरणतर्फ उन्मुख छ’, उनले भने, ‘सहरीकरणको अनुभूति नगरवासीलाई दिलाउन आकासे पुल निर्माण सुरू गरेका हौँ ।’ मेयर वनले रत्ननगर अस्पतालको स्तरोन्नति, सौराहाको सिटी हल र टाँडी बजारमा आकासे पुल निर्माण गर्ने आफ्नो योजना सफलतातर्फ उन्मुख भइरहेको बताए ।

रत्ननगर अस्पताल स्तरोन्नति भएर प्रादेशिक अस्पताल घोषणा भएको छ भने सौराहामा सिटी हल निर्माणको काम तीव्ररुपमा भइरहेको छ । गरिबलाई घर, ज्येष्ठ नागरिकलाई घरघरमै उपचार, सुत्केरी पशुलाई भत्ता, खरको छानोमुक्त नगर, उपचारमा सहज पहँुच, पर्यटनमा पूर्वाधार, कृषिमा अनुदानका कार्यक्रम गरेका मेयर वनले रत्ननगरलाई सहरीकरण गर्दै विकास गर्न नेपालमै नमुना आकासे पुल निर्माण सुरू गरेका हुन् । होमनाथ सापकोटा/ चितवन पोष्ट दैनिक 

भारतको उडिसामा भयानक रेल दूर्घटनाः २३० बढीको मृत्यु,  ९ सय बढी घाइते 

Previous articleपत्ता लाग्यो भाईरल फोटाको भित्री कुरा, को हुन पछाडी बस्ने केटी ?
Next articleनारायणी नदी खतराको तहभन्दा माथि, ३० परिवारलाई सुरक्षित स्थानमा सारियो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।