नारायणी नदी खतराको तहभन्दा माथि, ३० परिवारलाई सुरक्षित स्थानमा सारियो

६ साउन, चितवन । चितवनका दुई ठूला नदीहरुमा पानीको सतह निकै बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नारायणी नदीले खतराको तह पार गरेको छ भने, राप्ती नदी चेतावनीको तहभन्दा माथि पुगेको छ । नारायणी नदीको जलसतह ८ मिटरभन्दा माथि पुग्यो भने खतराको तह मानिन्छ । तर देवघाट क्षेत्रमा गरिएको मापनमा अहिले जलसतह ९.८१ मिटर पुगेको छ । जल सतह अझै बढ्ने क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नारायणी नदी बढ्दा भरतपुर महानगरपालिका वडा नं. २६ का विभिन्न स्थानमा कटान र डुबान हुन थालेको छ । वडाध्यक्ष ज्ञानप्रसाद खनालका अनुसार वडाको कोइला, सिसैँ, भगडि भन्ने ठाउँ सबैभन्दा बढी जोखिममा छन् । सो ठाउँका झण्डै ३० घर परिवारलाई राति नै सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष खनालले बताए । उनले जुनसुकै बेला पनि कटान गरेर नदी बस्तीमा पस्ने खतरा रहेको बताए । वडा नंं. २७ को न्यूरेचोक पनि उत्तिकै जोखिममा छ ।

यसैगरी चितवनको नारायणगढस्थित नारायणी नदी पुलमा पनि बाढीले सतर्कताको तह पार गरेको छ । नारायणगढ पुलमा ११ मिटरसम्म सतर्कताको तह मानिन्छ, तर अहिले जलसतह १२ मिटर पुगेको छ । यस्तै चितवनको पूर्वमा बग्ने राप्ती नदीमा पनि जलसतह बढेको छ । पूर्वी राप्ती नदीको बाढी मापनकेन्द्र रजैयामा जलसतह चेतावनीको तहभन्दा माथि गएको छ ।

रजैयामा ३.३० मिटरमा चेतावनीको तह मानिन्छ । अहिले पानीको सतह ३.३६ पुगेको छ । नदीमा पानीको सतह खतराको तह (३.३७ मिटर) नजिक पुगेको छ । यसको ट्रेण्ड बढ्ने देखिएको छ । राप्ती नदीमा पानी बढ्दा त्यसको मार पर्यटकीय क्षेत्रमा पर्न सक्छ । यही नदी बढ्दा पटक–पटक सौराहा डुबानमा पार्दै आएको छ ।

पटिहानी र जगतपुर क्षेत्र पनि जोखिममा पर्ने खतरा हुन्छ । नारायणी र राप्ती नदीमा जलसतह बढ्नेक्रममा रहेकाले तटीय क्षेत्रमा सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले उक्त क्षेत्रका वासिन्दाहरुको मोबाइलमा म्यासेज समेत पठाएर सतर्क रहन भनेको छ ।

सतौँ कोटमा प्याराग्लाइडिङको परीक्षण उडान

Previous articleटांडी चोकमा प्रविधि जडित आकासे पुल निर्माणको काम तीव्र
Next articleरत्ननगरमा विधालय बाटै लाखौको धनमाल चोरी (भिडियो)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।