कुलमानविरुद्ध अख्तियारमा उजुरी

३ मंसिर, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ तथा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालले भारतीय कम्पनी पीटीसी इन्डियासँग विद्युत् खरिद सम्झौता गर्दा ४३ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै ‘जेनजी मुभमेन्ट’ ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । बुधबार अख्तियारमा घिसिङ, सिलवाल तथा विद्युत् नियमन आयोग विरुद्ध उजुरी दर्ता गराएको जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहले जानकारी दिए ।

ऊर्जामन्त्री घिसिङ लगायतले भ्रष्टाचार गरेको विषयमा अख्तियारमा पटक–पटक उजुरी परे पनि आयोगका केही आयुक्तहरूकै प्रभावमा उनी अनुसन्धानको दायराबाट उम्किने गरेको जेनजी मुभमेन्टले आफ्नो निवेदनमा उल्लेख गरेको छ ।

यसपालि घिसिङ–सिलवालको सेटिङमा गरिएको विद्युत् आयात सम्झौता मार्फत ४३ करोड रुपैयाँ गडबडी गरेको विषयमा मिडियाले निरन्तर समाचार प्रकाशन गरिरहे पनि अख्तियार आश्चर्यजनक रूपमा मौन बसेको भन्दै जेनजी मुभमेन्टले छानबिन माग गरेको हो ।

उनीहरूले दिएको निवेदन अनुसार कसुरमा संलग्न देखिएका व्यक्ति मनोज सिलवाल अख्तियार आयुक्त किशोर सिलवालको नजिकका नातेदार भएको र ऊर्जामन्त्री घिसिङसँग प्रमुख आयुक्त प्रेमकुमार राईको पुरानो उठबस र मित्रता रहेको जानकारी प्राप्त भएको हुनाले स्वार्थको द्वन्द्व हुने गरी उनीहरूले अनुसन्धान प्रक्रियाबाट आफूलाई अलग राखी स्वतन्त्र रूपमा व्यावसायिक अनुसन्धानको मार्गप्रशस्त गरिदिनुपर्ने पनि जेनजी मुभमेन्टले माग राखेको छ ।

Previous articleकालिका नगरभित्रका उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी देखि खेलाडी एउटै मञ्चमा सम्मानित ( फोटो फिचर)
Next articleसेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।