गौतम बुद्ध महान भारतीय नागरिक भएको दाबी गर्दै भारतीय विदेशमन्त्रीले यस्तो भने
प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको ठोकुवा गर्दै अध्योध्याधामको मास्टर प्लान बनाउन माडी (चितवन) का जनप्रतिनिधिहरुलाई निर्देशन दिएको दिनमै भारतका विदेश मन्त्री एस जयशंकरले भगवान गौतम बुद्ध भारतीय नागरिक रहेको दाबी गरेका छन्। उनले शनिबार भारतीय उद्योगी तथा व्यवसायीहरुको संगठन कन्फडरेशन अफ इन्डियन इन्डस्ट्रिले आयोजना गरेको भर्च्युअल सम्मेलनलाई सम्बोधन गर्ने क्रममा गौतम बुद्धलाई ‘महान भारतीय नागरिक’ भनेका हुन् ।

उनले सम्बोधनमा भनेका छन्, ‘हामीले भारतीय इतिहासमा सबैभन्दा महान नागरिकका स्मरण गर्ने दुईजना छन् । एक गौतम बुद्ध र अर्को महात्मा गान्धी । उहाँहरुलाई हामीले मात्रै होइन पूरा विश्वले महान भारतीयका रुपमा चिन्छ ।’ भारतको सत्तामा रहेका व्यक्तिले बुद्धलाई भारतीय भनेको यो पहिलो पटक होइन। बारम्बार यस्ता दाबी आउने गरेका छन् र नेपालले त्यसको विरोध गर्ने गरेको छ।

नेपालको संसदमा विशेष सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ६ वर्ष पहिले बुद्ध नेपाली रहेको र उनले विश्वमा शान्तिको सन्देश प्रवाह गरेको बताएका थिए। तर उनले त्यसपछि अर्थात दुई वर्षअघिको बुद्ध पूर्णिामामा भारत बुद्धको भूमि रहेको बताएका थिए।
बुद्धबारे भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसको आपत्ति
भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध महान भारतीय नागरिक रहेको भनि दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्। ‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भूभाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्य विरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ’, शर्माले ट्विटमा लेखेका छन्।

उनले आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्याउने कार्य किमार्थ स्वीकार्य नरहेको बताएका छन्। बुद्ध नेपालमा जन्मिएका हुन् भनेर संसारमा कहिँबाट दर्ता प्रमाण हामीले मागेका छैनौँ भन्दै प्रवक्ता शर्माले लेखेका छन्, ‘राम जन्मभूमिको प्रश्न होस् या बुद्ध जन्मभूमिको, आपसी संवेदनशीलताको हेक्का नराखेर गरिने टिप्पणीले गहिरो चोट छोड्न सक्छन्, मुल विषय मोड्न सक्छन् तर दीर्घकालीन हितमा हृदय जोड्न सक्दैनन् ।’

उनले भारतीय भूमिबाट विगतमा आएका टिप्पणी पनि ‘नेपाल बुद्ध भूमि हो’ भनेर स्वयं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा बोलेपछि खारेज भैसकेको बताउँदै भनेका छन्, ‘ फेरि पनि आपत्तिजनक टिप्पणी अत्यन्तै दु:खद छ ।’ शनिबार भारतीय उद्योगी तथा व्यवसायीहरुको संगठन कन्फडरेशन अफ इन्डियन इन्डस्ट्रिले आयोजना गरेको भर्च्युअल सम्मेलनलाई सम्बोधन गर्ने क्रममा भारतीय विदेश मन्त्री एस जय शंकरले गौतम बुद्धलाई ‘महान भारतीय नागरिक’ भनेका थिए।
उनले सम्बोधनमा भनेका छन्, ‘हामीले भारतीय इतिहासमा सबैभन्दा महान नागरिकका स्मरण गर्ने दुईजना छन् । एक गौतम बुद्ध र अर्को महात्मा गान्धी । उहाँहरुलाई हामीले मात्रै होइन पूरा विश्वले महान भारतीयका रुपमा चिन्छ ।


