सकियो रत्ननगर महोत्सव, ४ लाख ५० हजारले अवलोकन २६ करोडको कारोबार

Click Image

रत्ननगर । रत्ननगरको टिकौली चौरमा आयोजना गरिएको रत्ननगर महोत्सवको १३औँ संस्करण बुधबार सम्पन्न भएको छ ।

रत्ननगर उद्योग वाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सव पौष २५ गतेबाट सुरू भएको थियो । १३ दिन सञ्चालन भएको उक्त महोत्सव ४ लाख ५० हजारले अवलोकन गरेको र २६ करोडको कारोबार भएको संघका कोषाध्यक्ष विनोद घिमिरेले दाबी गरे ।

यसपटकको महोत्सवमा रामजानकी मन्दिरको मूल गेट निर्माण गरिएको थियो । महोत्सव अवलोकन गर्न आएका अधिकांशले रामजानकी गेटमा फोटो र भिडियो खिचेका छन् ।

महोत्सवअन्तर्गत गरिएको मह उत्सव उत्पादन र बजारीकरणको हिसाबले कोसेढुङ्गा साबित भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी प्रमुखअतिथि रहेको समापन कार्यक्रममा संघका अध्यक्ष शंकर गिरीले रत्ननगर महोत्सवको १३औँ संस्करण अहिलेसम्मकै उत्कृष्ट भएको दाबी गरे ।

‘जिल्लाको आर्थिक विकासमा महोत्सवले महत्त्वपूर्ण भूमिका खेलेको हामीले महसुुस गरेका छौँ’, उनले भने, ‘यसको प्रभाव बिस्तारै देखिँदै जाने छ ।’ महोत्सवअन्तर्गत आयोजना गरिएको कृषि उत्पादन र बजारीकरण तथा युवा रोजगारसम्बन्धी कार्यशालाले एक खालको मार्गचित्र तयार भएको उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले निजी क्षेत्रले आयोजना गर्ने महोत्सव आर्थिक विकासको मेरूदण्ड रहेको भन्दै सरकारले उद्योग वाणिज्य संघको सिफारिसमा मात्र अन्य संघसंस्थामा महोत्सव आयोजनाको सिफारिस दिनुपर्ने बताए । संघका वरिष्ठ उपाध्यक्ष निराजन खनालले महोत्सवप्रतिको जनआकर्षणले आफूहरुलाई उत्साहित बनाएको भन्दै अनुमान गरेको भन्दा बढीले अवलोकन र लक्ष्यभन्दा बढी कारोबार भएको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले रत्ननगर महोत्सवले जिल्लाको कृषि, पर्यटन, उद्योग, स्थानीय उत्पादनको बजारीकरण तथा उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क सेतुको काम गर्न सफल भएको बताए । मुलुक विषम परिस्थितिमा गुज्रिरहेको बेला आयोजना गरिएको महोत्सव सफल हुनु नै सबैभन्दा ठूलो कुरा रहेको भन्दै उनले यसले जिल्लाको आर्थिक विकासमा सहयोग पुगेको बताए ।

समापन कार्यक्रममा महोत्सवमा सहयोग गर्ने विभिन्न संघसंस्थालाई कदरपत्र, प्रतियोगितामा सहभागीलाई पुरस्कार, स्टेरिङ कमिटीलाई कदरपत्र तथा लोकगायक नेत्रजी पन्तलाई सम्मान गरिएको थियो । महोत्सवअन्तर्गत भजन, शङ्खध्वनि, महिला कबड्डी तथा अन्तरविद्यालयस्तरीय नृत्य प्रतियोगिता गरिएको थियो ।

बाल उद्यानमा जलपरीसँगै बालबालिकालाई लक्षित गरी काश्मीर भ्याली निर्माण गरिएको थियो । पर्यटन प्रवद्र्धनतर्फ खगरी खोलामा मोटरबोट सञ्चालन गरिएको थियो । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका करिब ५०० स्टलहरु रहेका थिए ।

महोत्ववअन्तर्गत पौष २९ देखि माघ ४ सम्म सौराहा चोकस्थित बसपार्कमा ‘छैटौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव’ आयोजना गरिएको थियो ।

Previous articleसौराहामा तेस्रो हस्तकला प्रर्वद्धन मेला हुने
Next articleरङ्गमा रंगिँदै नेपाल: टाटा पेन्ट्सको २२ वर्षे यात्रा, नायिका श्रृष्टी खड्कालाई ब्रान्ड एम्बेसडर !
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।