रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा प्रदेशस्तरीय तेस्रो हस्तकला प्रवद्र्धन मेला हुने भएको छ । वागमती प्रदेशको उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय तथा बागमती प्रदेश हस्तकला महासंघको सयुक्त आयोजनामा यही माघ ९ र १० गते सौराहा स्थित गैंडाचोकमा मेला हुने छ ।
आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको उद्देश्य र तयारीको विषयमा जानकारी गराएको छ । वागमती प्रदेश भित्र रहेको हस्तकला उत्पादनको विषयमा जानकारी गराउने, उत्पादित वस्तुको बजारीकरण अवस्था ज्ञान प्राप्त गर्न, लोप हुन लागेका बस्तुहरुको संरक्षण गर्न, परम्परागत ज्ञान र सीपको हस्तान्तरण गर्न, हस्तकला प्रवद्र्धनमा रहेको अवसर र समस्याहरुको विषयमा जानकारी प्रदर्शन गर्न, स्थानीय उत्पादनमा रहेका सम्भाव्यताहरुको प्रवद्र्धन, प्रविधि र हस्तकला वीच सामजस्यता गर्ने उद्देश्यले मेला आयोजना गरिएको निर्देशनालयका कर्मचारी रमेश पौडेलले जानकारी दिए ।
वागमती प्रदेश भित्र उत्पादित काष्ट कला मुर्ती कला चित्रकला लगायतको विषयमा प्रचार प्रसार गर्ने एवं उत्पादन, बजारिकरण र सीप हस्तान्तरणको विषयमा जानकारी आदानप्रदान गर्ने उद्देश्यले मेला आयोजना गरिएको हस्तकला महासंघका अध्यक्ष नवीन शाक्यले बताए ।
१३ वटै जिल्लाको हस्तकला सम्बन्धी उत्पादित वस्तुको प्रदर्शन, उत्पादित बस्तुको जीवन्त प्रस्तुती, सीप तथा ज्ञानको हस्तान्तरण हुने मेलामा ३० देखि ४० वटा स्टल रहने उनले जानकारी दिए । हस्तकलालाई प्रविधिसंग जोड्न मेला आयोजना गरिएको महासंघका महासचिव मोहनसिंह मल्लले जानकारी दिए । मेला सम्पन्न गर्न १० लाख ५० हजार रुपैया विनियोजन गरिएको छ । मेलाको बागमती प्रदेशकी उद्योग मन्त्री विन्दु श्रेष्ठले दिउसो १ बजे उद्घाटन गर्ने कार्यक्रम छ ।




