हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात भदौ १५ देखि मात्रै सञ्चालन हुने भएका छन्। यसअघि मन्त्रिपरिषद बैठकले भदौ १ देखि नै आन्तरिक र वाह्य उडान तथा लामो दुरी (अन्तर जिल्लाका)का सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको थियो।

आइतबार बसेको कोभिड कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को बैठकले सो मिति सार्न मन्त्रिपरिषदमा प्रस्ताव गर्ने भएको एक मन्त्रीले जानकारी दिए।

पछिल्लो समय कोरोनाको संक्रमण दर र मृत्युदर समेत बढ्दै गएको अवस्थामा हवाई उडान र लामो दुरीका यातायात सञ्चालन गर्ने मिति सार्ने निर्णय भएको उनले बताए। सिसिएमसीले गरेको प्रस्तावलाई मन्त्रिपरिषद बैठकले पास गरेपछि मात्रै यो कार्यान्वयन हुनेछ। मन्त्रिपरिषदकाे बैठक भाेलि बस्नेछ।

सिसिएमसी बैठकले उपत्यका लगायत देशका अधिकांश जिल्लामा संक्रमितको संख्या बढ्दै गएकाले आइसोलेसनको अभाव देखिएको ठहर गर्दै थप व्यवस्था गर्ने निर्णय पनि गरेको छ

स्थानीय तह र जिल्ला संकट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेसन र क्वारेन्टिनको थप व्यवस्था गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए।
सीमामा थप कडाई
सीसीएमसीको बैठकले अन्तराष्ट्रिय सीमा नाकाहरुमा थप कडाई गर्न सिफारिस गरेको छ । भारतबाट आउने नेपालीहरुका लागि तोकिएको प्रवेश बिन्दु २० बाट १० मा झारिनेछ भने अन्यत्रबाट आउनेहरुलाई पूर्ण रुपमा निशेष गरिनेछ । तोकिएको प्रवेश बिन्दुबाट आवतजावत भइरहेको र सीमापार बजार क्षेत्रमा समेत कारोना संक्रमण फैलिएको भन्दै सीसीएमसीले दैनिक रुपमा किनमेल गर्न, कामदार ल्याउन हुने आवतजावततलाई पूर्ण रुपमा बन्द गर्न सिफारिस गरेको छ ।
यसबारे औपचारिक निर्णय भने भोलि सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले गर्ने एक मन्त्रीले जानकारी दिए ।
बैठकले कोरोना संक्रमितको केस २०० भन्दा बढी भएका जिल्ला र काठमाडौं उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक तथा वित्तीय संस्था लगायत जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेका निकायहरुलाई अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाहमा जोड दिने निर्णय समेत गरेको छ । यसरी सेवा प्रवाह गर्दा अत्यावश्यक सेवाको हकमा ७/७ दिन तथा अन्य कार्यालयको हकमा १५/१५ दिनको आलोपालो मिलाई ५० प्रतिशतलाई कार्यालय र बाँकीलाई घरबाट काम गर्ने व्यवस्था मिलाउन भनेको छ ।
साथै स्थानीय तहको समन्वयमा थप आइसोलेसन र क्वारेन्टिन स्थलहरु व्यवस्था गर्ने निर्णय गरेको छ ।अधिकांश जिल्लामा संक्रमितको संख्या बढ्दै गएकाले आइसोलेसनको अभाव देखिएकाले स्थानीय तह र जिल्ला संकट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेसन र क्वारेन्टिनको थप व्यवस्था गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए ।
जनस्वाथ्यका मापदण्ड पालना नगर्न संक्रमणको जोखिमसँगै मृत्युदर बढेको निष्कर्ष निकाल्दे बैठकले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न आग्रह गरेको छ ।


