भरतपुर, फागुन २ – भरतपुरमा रहेको होलिभिजन पब्लिक स्कुलको आयोजना तथा चितवन स्मार्ट स्काउटको सहकार्यमा चौथो स्मार्ट स्काउट नमन क्याम्प सञ्चालन हुने भएको छ। “अनुशासित अभ्यास, शक्तिशाली भविष्य” भन्ने मूल नारासहित आयोजना हुन लागेको क्याम्प यही फागुन ६ देखि ८ गतेसम्म सञ्चालन गरिने विद्यालयले जनाएको छ।
विद्यालयका अनुसार चितवनसहित आसपासका जिल्लाका विभिन्न विद्यालयका स्काउट विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। क्याम्पमार्फत सहभागीहरूलाई स्काउटसम्बन्धी व्यवहारिक ज्ञान, अनुशासन, नेतृत्व विकास तथा टोलीगत कार्यकौशल अभिवृद्धि गराउने लक्ष्य राखिएको छ।
क्याम्प अवधिभर गाँठो बाँध्ने सीप (Knotting), मार्चपास, नृत्य प्रतियोगिता, टनेल र चिम्नी जस्ता साहसिक अभ्यास, टायर वाल, टार्गेट टच, क्याटरपिलर रेस तथा इनभिजिबल मेज लगायतका खेल तथा प्रशिक्षण सञ्चालन गरिनेछन्। साथै क्याम्प फायर, सांस्कृतिक प्रस्तुति र टोलीगत प्रतिस्पर्धाले कार्यक्रमलाई थप रोचक बनाउने आयोजकको भनाइ छ।
क्याम्पको नेतृत्व शिव प्रसाद बरालले क्याम्प चिफका रूपमा गर्नेछन्। इश्वर गुरुङ क्याम्प निर्देशक, दुर्गा थापा क्याम्प संयोजक र प्रेमन ढकाल सह–संयोजकका रूपमा रहनेछन्। सैलजा अधिकारी, अभिषेक क्षेत्री, सागर सापकोटा, कुशल न्यौपाने, धिरज राउत कुर्मी, निरजला श्रेष्ठ र रुपेश थपलिया लगायतले विभिन्न व्यवस्थापकीय जिम्मेवारी सम्हाल्ने जनाइएको छ।
आयोजकका अनुसार क्याम्पमा सहभागी हुन प्रति स्काउट रु. १६०० शुल्क निर्धारण गरिएको छ, जसमा खाना तथा आवश्यक व्यवस्थाहरू समावेश गरिनेछ। सहभागी विद्यार्थीहरूले स्काउट पोशाकसहित आवश्यक व्यक्तिगत सामग्री अनिवार्य रूपमा ल्याउनुपर्नेछ।
यस क्याम्पले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व विकासमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।




