रास्वपाले घण्टी बजाउँदै भोट माग्न नपाउने

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अबदेखि आफ्नो चुनाव चिह्न घण्टी बजाउँदै भोट माग्न नपाउने भएको छ । आइतबार निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि प्रचारप्रसार गर्दा निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्न/नगराउन आग्रह गरेको छ । यसअघि रास्वपाका उम्मेदवारले घण्टी बजाउँदै मत माग्दै आएका थिए ।

आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै केही राजनीतिक दल र उम्मेदवारहरूले धातु, काठ वा अन्य सामग्रीबाट बनेका त्रियामी (थ्री-डी) आकारका भौतिक चुनाव चिन्ह बोकेर हिँड्दा शान्ति सुरक्षामा प्रतिकूल असर परेको भन्दै यस्तो निर्णय गरेको हो।

आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “आम जनमानसको सुरक्षामा असर पर्ने किसिमबाट भौतिक स्वरूपका कुनै धातु, काठ वा अन्य त्यस्तै प्रकृतिका सामग्रीबाट बनेका निर्वाचन चिन्ह प्रयोग गरी प्रचारप्रसार नगर्न र नगराउन सरोकारवाला सबैमा अनुरोध छ।”

आयोगले केवल तोकिएको मापदण्डका झण्डा र चिन्हहरू मात्र प्रयोग गरी स्वस्थ र मर्यादित निर्वाचन प्रचारप्रसार गर्न दल तथा उम्मेदवारहरूलाई आग्रह गरेको छ।

कतिपय राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्नको प्रचारप्रसार गर्दा भौतिक स्वरूपको निर्वाचन चिह्न साथमै बोकी प्रयोग गर्ने र जनसमुदायको समग्र शान्तिमा प्रतिकूल असर पारेको भन्ने सूचना र गुनासाहरू प्राप्त भएको भन्दै दल तथा उम्मेदवारलाई आग्रह गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

Previous articleसरकारी निर्णयको अवज्ञा : चितवन–२ मा उम्मेदवारद्वारा ‘रुफटप भेहिकल’ प्रयोग जारी
Next articleधादिङ बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, ४ महिला र १ विदेशीको पनि मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।