पर्सा क्षेत्र नं –२ का नेकपा उम्मेदवार चौधरी र सिराहा–३ का जसपा नेपालका उम्मेदवार यादव पक्राउ

काठमाडौँ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा क्षेत्र नम्बर नं. २ का उम्मेदवार मनोज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर चौधरीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

प्रहरीका अनुसार गाडीमा केही शंकास्पद वस्तु पनि फेला परेको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त क्षेत्रलाई घेराबन्दी गरिएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको र पत्रकार सम्मेलन गरी विस्तृतमा जानकारी दिइने पर्सा प्रहरीले जनाएको छ ।

यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालबाट सिरहा क्षेत्र नं. ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन्। मौन अवधिका बेला मंगलबार राति यादव नगदसहित पक्राउ परेका हुन्।

प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२:३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकेको थियो। जाँचका क्रममा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरीले गाडीबाट रकमसहित पक्राउ परेका यादवसहितलाई आवश्यक कारबाहीका लागि जिल्ला निर्वाचन कार्यालय सिरहा पठाउँदै छ।

Previous articleएन्जल फाउन्डेसनको सहयोगमा रत्ननगरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, विशेषज्ञसहितको सेवाबाट स्थानीय लाभान्वित
Next article९ वटा सुतली बम र सुँगुरको टाउकोसहित वीरगञ्जबाट ३ जना पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।