वर्ष दिनको छँदा एकसाथ परिवारका ८ जना गुमाएका सन्सरबहादुरले गरे एसईई

चितवन — २०६७ जेठमा विषालु च्याउ खाएर परिवारका सबै सदस्य गुमाएका चितवनको पहाडी गाउँ कान्दामा सन्सरबहादुर चेपाङले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन् । च्याउ खाँदा बिरामी परेका परिवारका आठ सदस्यको मृत्युपछि भरतपुरस्थित एसओएस बालग्रामको आश्रयमा पढिरहेका सन्सरबहादुर २ दशमलब ६९ जीपीए ल्याएर पास भएका हुन् ।

चितवनको उत्तरी भेग पहाडी गाउँ लोथरको कान्दामा २०६७ को जेठ १४ मा जंगली च्याउ खाएका एकै घरका आठ जनाको निधन भएको थियो । सानो भएका कारण च्याउ नखाएका बालक सन्सरबहादुर मात्रै जोगिएका थिए । उनै सन्सरबहादुर यो पटक एसईई उत्तीर्ण भएका हुन् ।

हाल राप्ती नगरपालिका–१३ मा पर्ने कान्दा गाउँ पुग्न अहिले पनि दिनभर हिँड्नुपर्छ । गाउँ पुग्ने मोटरबाटो छैन । अति सिमान्तकृत वर्गमा पर्ने आदिवासी चेपाङ बहुल कान्दामा १६ वर्षअघि यो घटना हुँदा बिरामी भएकालाई भरतपुरको अस्पताल ल्याउनै झण्डै दुई दिन लागेको थियो ।

२०६७ जेठ १४ को साँझ कान्दाका बाबुराम चेपाङले जंगलबाट ल्याएको च्याउ पकाए । बाबुराम सन्सरबहादुरका हजुरबुवा हुन् । गाउँमा च्याउ खाएका सबै आठ जना बिरामी परेको हल्ला भएपछि भोलिपल्ट स्थानीय कान्देश्वरी विद्यालयका प्रधानाध्यापक (प्रअ) बालकृष्ण थपलिया बाबुरामको घर गए । छिमेकीहरु उनीहरुलाई जनावरको दिसा खुवाएर वान्ता गराउन खोज्दै थिए । प्रअ थपलियाले यस्तो नगर्न र ‘जति सक्दो चाँडो अस्पताल लौजाऔं’ भने । गाउँलेहरु जुट्दाजुट्दै बाबुरामको प्राण गयो । लगत्तै बाबुरामकी श्रीमती अर्थात् सन्सरबहादुरकी हजुरआमाको पनि निधन भयो । ‘बिरामी भएकामध्ये बाबुराम, उनकी श्रीमती र बाबुरामकी एक नातिनी (सन्सरबहादुरकी दिदी)को गाउँमै प्राण गयो,’ प्रअ थपलियाले घटना सम्झे । बाँकी पाँच जनालाई थपलियाले गाउँलेको सहयोगमा भरतपुर अस्पताल ल्याए ।

सन्सरबहादुरका बुवा पूर्णबहादुर, आमा चन्द्रमाया, सन्सरबहादुरकी एक दिदी, काका जीतबहादुर र जीतबहादुरकी श्रीमतीको भरतपुर अस्पतालकै शय्यामा मृत्यु भयो । उपचारको प्रयासमा काठमाडौं लगिएका जीतबहादुरको पनि जेठ २० मा मृत्यु भएपछि सन्सरबहादुरको परिवारमा कोही बचेनन् ।

परिवारका सबै बिते बच्चालाई के गर्ने ? प्रअ थपलिया साँछी बस्ने भएपछि भरतपुरको एसओएस बालग्रामले सन्सरबहादुरलाई राख्ने जिम्मा लियो । यो घटनाले सन्सरबहादुरलाई अर्कै संसारमा पुर्‍यायो ।
बालग्रामकी आमा ‘कान्ति’को काखमा सन्सरबहादुर हुर्किन थाले । सन्सरबहादुरको स्कुले जीवन सुरु भयो । ‘फुटबलमा उनको सानैदेखि धेरै रुचि छ । स्कुलबाट फुटबल खेल्न ठाउँठाउँ गएका छन्,’ एसओएस बालग्रामका निर्देशक राजेन्द्र लम्सालले भने ।

तीन वर्षअघि अन्डर–१६ समूहको छनौट खेल्न काठमाडौंसम्म गए पनि छनोट हुन सकेनन् । बालग्राममा बस्न आएकाहरु २३ वर्षको हुँदासम्म एसओएसले जिम्मेवारी लिन्छ । ‘त्यो बेलासम्म पढाइदेखि सबै कुरामा सहयोग गर्छाैं । हाम्रोमा कक्षा ११ मा विज्ञान विषय छ । त्योबाहेकको विषय पढ्न बाहिर गए पनि सहयोग हुन्छ,’ निर्देशक लम्सालले भने ।

फुटबलसँगै बास्केटबल, भलिबलमा पनि आफ्नो रुचि भएको उनले बताए । उनलाई नाँच्न पनि रहर लाग्छ । ‘कहिलेकाँही त गीत पनि गाउँछु,’ सन्सरबहादुरले भने । पढाइमा राम्रो अक्षर लेख्न नसकेका कारण प्रगति गर्न नसकिएको उनी बताउँछन् । गाउँमा आफ्ना हजुरबाआमा पट्टिका सबैको निधन भए पनि अन्य आफन्त छन् । उनी बीचमा दुई पटक गाउँ पनि पुगे । ‘गाउँ त धेरै टाढा रहेछ । काठमाडौंभन्दा पनि टाढा । दिनभरी हिँड्न पर्ने,’ उनले भने ।

Previous articleएसईईमा डेढ लाख विद्यार्थी ‘नन् ग्रेडेड’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।