धमाधम चाटर्ड उडान हुँदै; कतार एअरवेजले आज उडान भर्दै, टर्किसले पनि माग्यो अनुमती

काठमाडौँ — कोभिड नियन्त्रण गर्न सरकारले लगाएको निषेधाज्ञाका कारण काठमाडौंलगायत देशका विभिन्न भागमा अलपत्र परेका अमेरिकी र युरोयपियन नागरिक आइतबार राति कतार एयरको विमानबाट स्वदेश फर्किँदै छन् । काठमाडौंस्थित कतार एयरवेजले निषेधाज्ञाका कारण अन्तर्राष्ट्रिय उडानमा लगाइएको रोकपछि आइतबार नवौं दिनमा अमेरिका र युरोपका लागि हुन लागेको यो रिपार्टेसन (देश फिर्ती) उडान पहिलो भनेको छ । सोमबार हिमालय एयरलायन्सले नेपालमा अलपत्र परेका ५२ बंगलादेशी नागरिकलाई ढाका पुर्‍याएको थियो ।

आइतबार बेलुकी ८ बजे दोहाबाट काठमाडौं आइपुगेको कतार एयरवेजको २ सय ५४ सिट भएको बोइङको ड्रिमलाइनर विमान दोहाबाट अमेरिकी दूतावासका सहचारी सन् अलन सिंह र दूतावासमा कार्यरत नेपाली कर्मचारी उत्तम लामा आएका छ्न् । कोराना संक्रमणले अन्तर्राष्ट्रिय उडान स्थगन भएका कारण सिंह दुबई र लामा अमेरिकामा रोकिन पुगेकाले दूतावासको अनुरोधमा नेपालले यिनलाई निषेधाज्ञामा प्रवेश अनुमति दिएको हो । काठमाडौंबाट आइतबार राति १० बजे नै फर्किने उक्त विमानमा २ सय ५४ जना अमेरिकी र युरोपियन लिएर दोहा फर्किँदै छन् । ती यात्रु दोहाबाट नियमित व्यावसायिक उडानबाट आफ्ना गन्तव्य जाने छन् ।

‘आजको रिपार्टेसन ङ्खलाइटमा ९० प्रतिशत अमेरिकी नागरिक छन् । जसमा ६० प्रतिशत हाराहारी कूटनीतिक नियोगमा आबद्ध यात्रु छन् । बाँकी १० प्रतिशत बेलायती, नर्वे, फ्रान्स, जर्मनी र इटलीका नागरिक छन्,’ उडान संमद्ध एक अधिकारीले भने । कोरोना महामारी सरकारको नियन्त्रणबाहिर गएको र राजधानीमै अक्सिजन अभावले संक्रमितको मृत्यु बढेपछि अमेरिकी लगायतका विभिन्न मुलुकका नागरिक आफ्ना कूटनीतिक नियोगमार्फत स्वदेश फर्किन चाहिरहेका छन् । नेपालमा पर्यटक ल्याउने टर्किस र कतारले बुकिङमा चाप भएकाले थप उद्धार उडानका लागि अनुमति मागेको नागरिक उड्डयन प्राधिकरणको उडान अनुमति शाखाका उप–प्रबन्धक ज्ञानेन्द्र भुलले बताए ।

उनका अनुसार, सोमबार इस्तानबुल–काठमाडौं–इस्तानबुल अमेरिकी दूतावाससँगको सहकार्यमा चार्टर उडान गर्न लागेको टर्किस एयरलायन्सका नेपाल प्रमुख अब्दुल्लाह टुनेजर केजीजीले स्वदेश फर्किन चाहने विदेशीहरुको इन्क्वारी आएकाले जेठ ८ र १३ गतेका लागि अनुमति माग्दै टर्कीबाट इमेल लेखेका छन् । यसबारे प्राधिकरणले निर्णय भने नगरिसकेको उप–प्रबन्धक भुलले बताए । त्यस्तै कतारले जेठ ८ गते (शनिबार) जर्मन र जेठ ११ गते अमेरिकी नागरिकका लागि उद्धार उडान गर्दै छ । त्यसपछि पुन: दुइटा युरोपका लागि उडान गर्ने कतारले जनाएको छ ।

त्यस्तै काठमाडौंस्थित रसियाली दूतावासले पनि यहाँ अलपत्र परेका कम्तीमा १ सय २० नागरिकलाई स्वदेश लैजान आफ्नो विमानका लागि अनुमति मागेको छ । उक्त मुलुकको विमान अवतरण हुने तिथि भने तय भइसकेको छैन । यसैबीच नेपालमा अलपत्र परेका भारतीयहरुलाई तीन वटा उडानबाट साउदी अरेबिया पुर्‍याउन हिमालय एयरलायन्सले पनि अनुमति मागेको छ । प्राधिकरणले अनुमती दिइसकेको छैन । ‘काठमाडौंमा रहेको अमेरिकी दूतावासले नेपालको परराष्ट्र मन्त्रालयलाई आफ्ना नागरिकलाई स्वदेश फर्काउन नोट लेखेर दिएकाले टर्किस एयरलायन्स र कतार एयरवेजले उसको पत्रका आधारमा रिपार्टेसन (स्वदेश फिर्ती) उडानको अनुमति पाएका छन्’, यी उडानमा संलग्न अधिकारीले भने ।

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार उद्धार उडानमा संलग्न वायुसेवालाई हाल अनुमति दिइएका उद्धार उडान कूटनैतिक नियोग र सम्बन्धित मुलुकका नागरिकका लागि तोकिएकाले भिसा (विद्यार्थी–पर्यटक) बाहेक नेपालीलाई टिकट बिक्री नगर्न सचेत गराएको छ । ‘दूतावासहरुको अनुरोधमा हुन लागेका यसपटकका चार्टर उडानमा अत्यधिक चर्को भाडा नअसुल्न तथा जसलाई नियमअनुसार उद्धारको आवश्यकता छ तीबाहेक नेपाली लगायतलाई जथाभावी टिकट बिक्री नगर्न मन्त्रालय, प्राधिकरण, पर्यटन विभाग लगायतको तर्फबाट संयुक्त रुपमा चार्टर उडानमा संलग्न कतार र टर्किसलाई आइतबार इमेलबाट निर्देशन दिएको छ,’ उप–प्रबन्धक भुलले भने, ‘यदि वायुसेवाका टिकट बिक्री गर्ने एजेन्टले यात्रुबाट भाडा बढी लिइएको लगायतका गुनासो प्राप्त भएमा उद्धार उडानको अनुमति रोक्का गर्नेछौं भने थप कानुनअनुसार वायुसेवालाई पनि कारबाही गरिने छ ।’

त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीका अनुसार, सोमबार टर्किस एयरले पनि काठमाडौंमा रहेका विदेशी कूटनीतिक नियोगका कर्मचारी, अमेरिकी नागरिक, उक्त मुलुकका सरकारी कर्मचारी र कानुनी रुपमा स्थायी बसोबासको प्रमाण भएका तथा अन्य विदेशी नागरिकका लागि इस्तानबुलसम्मको उडान गर्दैछ । टर्किसको वाइडबडी विमानले २ सय ८५ यात्रु लैजाँदै छ । टर्किसका नेपाल प्रमुख अब्दुल्लाहले सोमबारका लागि हुने उद्धार उडानका टिकट सबै बिक्री भइसकेको जानकारी दिए । अब्दुल्लाहले युरोपका जुनसुकै मुलुक जाने यात्रुलाई १२ सय र अमेरिका जानेलाई १५ सय ५० डलरभन्दा बढीमा टिकट बिक्री नगरिएको बताए । त्यस्तै कतारले युरोपका लागि १३ सय र अमेरिकका लागि १६ सय डलरमा एकतर्फी टिकट बिक्री गरिएको जनाएको छ ।

तर, अमेरिकाको सियाटल, फिलाडेल्फिया र डालस जाने यात्रुबाट १८ सय ९५ मा लिइएको नाम नखुलाउने सर्तमा एक कर्मचारीले बताए । कतारले चार्टर उडानको टिकट बिक्री गर्ने एजेन्सीलाई सर्भिस चार्जमात्रै दिइने भएकाले तोकिएको भन्दा महँगो नहुने भनेको छ । तर, नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्सका एक पदाधिकारीले केही एजेन्टले वायुसेवाले तोकेको भन्दा मनोमानीमा टिकट बिक्री भइरहेको गुनासो यात्रुबाट सुनिएको बताएका छन् । ‘चार्टर उडानमा गत वर्ष जस्तै बदनामी र कालोबजारी नहोस् भनेर मंगलबार पर्यटन सचिवलाई संस्थागत ज्ञापन पत्र बुझाइसकेका छौं । मन्त्रालयको निर्णयको पर्खाईमा छौं,’ ती पदाधिकारीले भने । कान्तिपुर बाट 

https://ujyaalonepalnews.com/archives/14358

Previous articleरवि लामिछाने भन्छन्:- “पार्टी बच्यो, पद बच्यो। अब आउनुहोस् जनता बचाऔं।”
Next articleकुखुरी काँ बासी भात खाँ खोई सिलिन्डर सांसदले लगे खोई सांसद गाउँ तिर लागे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।