सुरु भएको सिमित अन्तर्राष्ट्रिय उडान: श्रमिकको लागी हात्ती आयो हात्ती आयो फुस्सा

काठमाडौं : नेपाल सरकारले तीन मुलुकका लागि शुरु गरेको उडान वैदेशिक रोजगारीमा जाने तथा फर्किने कामदारहरुका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तो देखिएको छ । नेपालमा कोरोना भाइरस संक्रमण केही कम भएपछि गत जुन ७ तारेखबाट सरकारले कतार, टर्की र चीन गरी तीन देशका लागि उडान शुरु गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि रोजगारीमा जोडिन जाने र करार अवधि सकिएका वैदेशिक रोजगारसँग जोडिएका कामदारहरुले केही राहत महसुस गरेका थिए । तर महिनौंको तलब खर्चिएर पनि खरिद गर्न नसक्ने गरी जहाज भाडा महँगो भएपछि कामदार निराश भएका हुन् ।

हाल कतार एयरवेज र नेपाल एअरलाइन्सले हप्तामा एक–एक वटा उडान भरिरहेका छन् । कतार जानका लागि एकतर्फी भाडामात्र न्यूनतम एक हजार डलर रहेको छ । नियमित उडान हुँदा तीन सय डलर हाराहारीमा खर्च गरेर जाने गरेका कपिलवस्तुका राम विनय अहिर अहिलेको भाडा तिरेर जान नसक्ने बताउँछन् । खाडीका विभिन्न मुलुकमा रोजगारीमा जान भिसा लिएका पचास हजार बढी युवा नेपालमा रोकिएको वैदेशिक रोजगार व्यवसायीहरु बताउँछन् । ओमान, बहराइन, साउदी अरब र यूएई जानुपर्ने कामदार कतार हुँदै जानु पर्ने भएका कारण उनीहरुलाई थप आर्थिक भार परेको बताइएको छ ।

कतार युरोप तथा उत्तर अमेरिकी मुलुक जाने पर्यटकको ट्रान्जिटका रुपमा रहेका छ । त्यसमा कूटनीतिकदेखि व्यापारिक भ्रमणका लागि जाने उच्चस्तरीय यात्रुले ओगट्दा न्यून आय आर्जन हुने कामदारका लागि कतारको साप्ताहिक उडानले कुनै सहयोग नगरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले मध्यान्हलाई बताए । नेपालबाट पहिलो पटक रोजगारीमा जानेसहित रिटर्न टिकट लिएर विदामा घर आएका कामदार बढी पीडामा देखिएका छन् ।

नियमित उडान नहुँदा विदामा स्वदेश फर्किनु पर्ने कामदार मात्र होइन कार्यस्थलमा मृत्यु भएका कामदारको शव नेपाल आउन सकेको छैन । केहीदिन अघि मलेसियाबाट ३० वटा शव ल्याइएको भएपनि मलेसिया र साउदीबाट अझै १७ वटा शव ल्याउन बाँकी रहेको वैदेशिक रोजगार बोर्डका प्रवक्ता दिनबन्धु सुवेदीले जानकारी दिएका छन् ।

पछिल्लो पटक वैदेशिक रोजगारीका लागि प्रतिबन्धित मुलुक इराकको कुर्दिस्तानमा मात्र ५ नेपालीको शव रोकिएको छ । सिन्धुपाल्चोककी चिनीमाया तामाङ र राधामाया तामाङ, रसुवाकी साङ्मु तामाङ र छिरिङ्ग तामाङ र एक युवाको शव त्यहाँ रोकिएको बताइएको छ । मध्यान्ह बाट

https://ujyaalonepalnews.com/archives/14742

Previous articleनारायणी नदीले खतराको तह पार गर्‍यो आसपासका बस्ति खाली गर्न चेतावनी
Next articleउर्लियो नारायणी: ईतिहासकै ठुलो बाढी, राती ९ बजे यस्तो आयो रिपोर्ट
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।