मलेसिया, युएई र साउदी अरबको पनि उडान खोल्ने तयारी; एयर अरेबिया र फ्लाई दुबई अनुमति लिने प्रक्रियामा

कोरोना संक्रमण दर घट्दै गएपछि थप अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी भएको छ। बढ्दो कोरोना संक्रमण रोकथामका लागि भन्दै सरकारले वैशाख २० देखि आन्तरिकतर्फको पूरै र अन्तर्राष्ट्रियतर्फका अधिकांश उडानमा रोक लगाएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार कोभिड–१९ संकट व्यवस्थापन समिति (सिसिएमसी) को सिफारिस अनुसार मन्त्रिपरिषद् बैठकले नियमित उडान खोल्ने तयारी गरेको हो। प्राधिकरण स्रोतका अनुसार हाल जारी रहेका चार्टर्ड उडान बन्द गरेर नियमित उडान खुलाउन लागिएको हो।

आगामी सातादेखि थप तीन मुलुकमा नियमित उडान सुरु हुने स्रोतको दाबी छ। सरकारले जेठ १८ देखि चीन, कतार र टर्कीको नियमित उडान खोलेको थियो। अब मलेसिया, युएई र साउदी अरबको उडान खोल्ने तयारी भएको हो। नियमित उडानका लागि एयर अरेबिया र फ्लाई दुबई अनुमति लिने प्रक्रियामा रहेको सम्बद्ध स्रोतको भनाइ छ। नियमित अन्तर्राष्ट्रिय उडान खुले विदेशमा अलपत्र परेका कामदार सहज रूपमा स्वदेश फर्कने वातावरण बन्नेछ। अचेल तीनवटा देशमा मात्रै सीमित अन्तर्राष्ट्रिय उडान भइरहेको छ। अचेल इस्तानबुल–काठमाडौं, दोहा–काठमाडौं र नयाँदिल्ली–काठमाडौं सेक्टरमा सीमित उडान खुला छ। इस्तानबुल र दोहा सेक्टरमा १५ दिनअघि उडान सुरु भएको हो।

नयाँ दिल्लीमा भने पहिलेखि नै उडान जारी थियो। नेपाल एअरलाइन्स, टर्किस एअरलाइन्स, एअर इन्डिआ र कतार एअरवेजले नियमित अन्तर्राष्ट्रिय उडान भर्दैै आएका छन्। सरकारले आन्तरिक उडान समेत खोल्ने तयारी गरको स्रोतको भनाइ छ। वायुसेवा सञ्चालक संघ, नेपालले संक्रमण दर घट्न थालेको भन्दै आन्तरिक उडान खोल्न एक साताअघि नै आग्रह गरेकामा मंगलबार पुनः सम्झाएको छ। तोकिएका जनस्वास्थ्य मापदण्ड पालना गरेर आन्तरिक उडान खोल्न सकिने भन्दै संघले तोकिएको मापदण्डअनुरूप उडान सञ्चालन गर्न वायुसेवा कम्पनीहरू तयार रहेको जनाएको छ।

स्रोतका अनुसार मन्त्रालय पोहोर जस्तै सुरुमा आन्तरिकका २५ प्रतिशत उडान खोल्ने तयारीमा छ। विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड बमोजिम काम गर्दा संक्रमणमुक्त उडान हुने संघको दाबी छ। तोकिएको मापदण्डले हवाई यातायातमार्फत सर्वसाधारणको आवतजावत सहज हुने संघको धारणामा मन्त्रालय सहमत देखिएको छ। तर कहिलेदेखि आन्तरिक उडान सञ्चालनमा ल्याउने भनेर निर्णय हुन सकेको छैन। अब बस्ने मन्त्रिपरिषद् बैठकले आन्तरिक उडानबारे निर्णय लिन सक्ने अनुमान गरिएको छ। संघले गत वर्ष जस्तै यो वर्षको निषेधाज्ञा अवधिभर ल्यान्डिङ, पार्किङ तथा अन्य शुल्कमा ७५ प्रतिशत छुटको व्यवस्था गर्न माग गरेको छ। आजको नागरिक दैनिकमा खबर छ 

https://ujyaalonepalnews.com/archives/14759

Previous articleबागमती प्रदेशको ५७ अर्ब ७२ करोडको नयाँ बजेट: खोप लगाउन २ अर्ब (पूर्णपाठ)
Next articleबागमती प्रदेशको बजेटमा चितवनका लागी के के कार्यक्रम परे? हेर्नुहोस
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।