कृषक मैत्री बन्दै वडा नं. १६; कृषकलाई बोका देखि बाल्टिन सम्म वितरण
निराजन घिमिरे/ असार ११/ चितवन- चितवनको रत्ननगर नगरपालिका वार्ड नं. १६ मा मौरीपालक कृषकहरुलाई सहयोग गर्ने उद्देश्यले मह संकलन गर्ने बाल्टिन वितरण गरिएको छ । वडा नम्बर १६ को आ.व. २०७७/७८ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत मौरी पालक कृषकहरुलाई ५० प्रतिशत लागत सहभागिता मा २८५ थान मह संकलन गर्ने बाल्टी वितरण गरिएको हो । स्वास्थ्य मापदण्ड कायम गर्दै आयोजना गरिएको एक कार्यक्रम बीच वडाध्यक्ष हेमराज थापाले किसानहरुलाई बाल्टिन वितरण गर्नुभएको थियो ।
आफ्नो वडालाई किसान मैत्री वडा बनाउने अभियान अन्तर्गत यस्तो कार्यक्रम संचालन गरिएको वडाध्यक्ष थापाले बताए । वडा कार्यालयले व्यवसायिक कृषकहरुलाई सहयोग गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । यस अघि कार्यालयले बाख्रापालक किसानलाई बोयर जातको बोका वितरण गरेको थियो भने ‘वडाध्यक्ष उद्धमशील कार्यक्रम‘ अन्तर्गत ११० जना व्यवसायिक कृषकहरुलाई ५० प्रतिशत लागत अनुदानमा ह्विल ब्यारो ( ठेला गाडा ) र स्प्रे ट्यांकी वितरण गरिएको थियो ।
ह्विल ब्यारो ( ठेला गाडा ) र स्प्रे ट्यांकीको लागी गत माघमा सुचना प्रकाशित गरेर आवेदन मागिएको र त्यतिबेला आवेदन दिने कृषकहरुलाई अहिले वितरण गरिएको हो । उक्त कार्यक्रमले आउँदो आर्थिक वर्षमा पनि निरन्तरता पाउने र विविध कारणले आवेदन दिन छुट्नुभएका कृषकहरुले अर्को सुचना प्रकाशित भएपछी आवेदन दिएर उक्त कार्यक्रममा सहभागी हुन पाउने वडाध्यक्ष थापाले जानकारी दिनुभयो । “वडा कार्यालयले कसैलाई भेदभाव गर्दैन, सुचना निस्किएपछी आवेदन दिनुस्, ह्विल ब्यारो ( ठेला गाडा ) र स्प्रे ट्यांकी लैजानुस्” , वडाध्यक्ष थापाले भन्नुभयो ।
https://ujyaalonepalnews.com/archives/14907



