सातकन्या खानेपानीको साधारणसभा; पिठुवा खानेपानी संग मर्जको प्रस्तावले विवाद

निराजन घिमिरे, श्रावन २, चितवन- चितवनको रत्ननगर-१६ मा रहेको सातकन्या खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चौथो साधारण सभा तथा दोश्रो अधिवेसन हिजो साउन २ गते शनिबार सम्पन्न भएको छ। रत्ननगर नगरपालिका वडा नं. १६ का वडाध्यक्ष हेमराज थापाको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सचिव प्रकाश खनाल शैलेश विशिष्ट अतिथिको रुपमा रहेका थिए। त्यस्तै,अतिथिको रुपमा सातकन्या खानेपानी संस्था तथा सरसफाइ उपभोक्ता संस्थाका संस्थापक पदाधिकारी तथा सदस्यहरू/निवर्तमान पदाधिकारी तथा सदस्यहरू लगायत विभिन्न सामाजिक संघसंस्थाको प्रमुख एंव् प्रतिनिधिरू लगायत रहेका थिए।

संस्थाका अध्यक्ष पुर्षोत्तम लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य संस्थाका सहसचिव देव बहादुर रानाले राख्नुभएको थियो। यस्तै,लेखा समिति संयोजक रमेश कुँवरले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने माओवादी केन्द्रका वडा सचिव बुद्धिमान गुरुङ, नेपाली कांग्रेस प्रतिनिधि तारा बहादुर नेपाल, संस्थाका संस्थापक अध्यक्ष विष्णु प्रसाद अर्याल लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष पुर्षोत्तम लामिछानेले संस्थाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विभिन्न कठिनाईको कारण अब संस्था संचालन गर्न असम्भव जस्तै देखिएको कारणले पिठुवा खानेपानी संग मर्ज गरेर जाने गरि लबिंग अगाडी बढेको बताउनु भएको थियो । संस्थाले यस अघि बिच्याएका पाईप लाईन सडक कालोपत्रे भएसंगै कालोपत्रे मुनि परेको र नयाँ धारा जडान गर्न असम्भव जस्तै भएको उँहाको भनाई छ । त्यसैले संस्था टिकाई राख्नको लागी नयाँ पाईपलाईन बिच्छ्याउन तत्काल करिब एक करोड रुपैयाँ संस्थालाई आवश्यक रहेको र उक्त रकम कुनै पनि सरकारी निकाय बाट जुटाउन नसकिने उँहाले बताउनु भयो ।

हामी संग जम्मा ३०५ ग्राहक छन्, ग्रामिण खानेपानी बनाएर बजेट माग्न पनि ग्रामिण खानेपानीको लागी कम्तीमा २००० घरधुरी हुनुपर्ने अन्यथा सरकारी सहयोग नहुने कारण ठुलो बजेट ल्याउन आफुहरुले गरेको प्रयास सफल हुन नसकेको उंहाले बताउनुभयो । फाईल बोकेर मन्त्रालय पुग्दा समेत हामीलाई पिठुवा खानेपानीमा मर्ज भएर जान सुझाब दिईएको संस्थाका पदाधिकारीहरुको भनाई छ ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेकपा एमाले जिल्ला कमिटि सचिव प्रकाश खनाल शैलेशले सातकन्या खानेपानी स्थापना हुनुभन्दा पहिला कुनाघारी र जुटपानी बाट पानी ओसारेर खाएको स्मरण गर्दै स्थानीय नेतृत्वको उदासिनताले संस्था लथालिङ्ग भएको आरोप लगाउनु भयो । त्यस्तै मन्तव्यकै क्रममा माओवादी केन्द्रका वडा सचिव बुद्धिमान गुरुङले सर्वपक्षिय अधिकार सम्पन्न समिति बनाएर निकै गहिरो अध्ययन गरि संस्थाको सम्पतीको पारदर्शी व्यवस्थापन गरेर मात्र मर्जमा जानुपर्ने धारणा राख्नुभयो ।

लथालिङ्ग बनाएर जिम्मा लगाउन खोजेको युवाहरुको आरोप

संस्थालाई मर्ज गरेर जाने छलफल चलिरंहँदा केहि युवाहरु भने यसको विपक्षमा देखिए । पानीको निकै दुखको समयमा स्थापना गरेर आज सम्म संचालन गरिएको संस्थालाई अहिले मनपरी ढंगले अर्काको जिम्मा लगाउनु गलत भएको उनीहरुको धारणा छ । यदि संचालन नै गर्न नसकिने अवस्था हो भने संस्थाको सम्पतीको पारदर्शी व्यवस्थापन गरेर मात्र मर्जमा जानपर्ने उनीहरुको मत छ । नेतृत्वले पिठुवा खानेपानीमा गएपछि पिठुवा खानेपानीको दशौ करोडको सम्पतीमा हाम्रो हक हुने भनेर लोभ देखाएको भन्दै उनीहरुले यो त “ महाकाली बाँध बाट बिजुली निकालेर स्याटलाइट बाट बेच्न” देखाएको सपना जस्तै भएको भन्दै व्यंग समेत गरे ।

राजनैतिक सहमतीको नाममा विरोधीहरु बाईकट

संस्थाका अध्यक्ष पुरुषोत्तम लामिछानेले संस्थाको मौजुदा समिति भंग भएको घोषणा गरे संगै अब नयाँ समिति बनाएर जाने वा पिठुवा खानेपानी संग मर्ज गर्नेको लागी विज्ञ समूह बनाएर जाने भन्ने विषयमा लामो विवाद चलेको थियो । संस्थाका पुर्व पदाधिकारी लगायत राजनीतिक अगुवाहरु संस्था चलाउन नसकिने भएका कारण मर्जको लागी विज्ञ समिति बनाएर जानुपर्ने पक्षमा थिए भने अर्को असन्तुष्ट समूह समिति बनाएर जानुपर्ने पक्षमा देखिन्थ्यो । राजनैतिक सहमतीको आधारमा टोली गठन गर्ने भन्दै स्थानीय नेताहरु बन्द कोठामा छिरेपछि युवाहरु त्यसको विपक्षमा देखिन्थे । राजनैतिक सहमतीको नाममा सिमित व्यक्तिहरुको मात्र हालीमुहाली चलेको उनीहरुको आरोप छ । राजनैतिक सहमतीको भन्दै पटक पटक विवादित व्यक्तिहरुलाई समितिमा ल्याउने काम भैरहेको युवाहरुको भनाई छ ।

विवादका विच बन्यो नाम बिनाको समिति

लामो विवाद पछी सभाले दिल बहादुर थापाको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरेको छ । तर उक्त समितिको हैसियत के हुने बारे केहि खुलेको छैन । समिति गठन गर्नको लागी निर्वाचन समिति, माईनुट समिति बनाएर विधि सम्मत तरिकाले जानुपर्नेमा टाठाबाठाले बलमिच्याइँ गरेको सहभागीहरुले बताए । माईनुट समिति नै नबनाई कार्यसमिति कसरी गटन हुन्छ ? सहभागीहरुको प्रश्न थियो ।

 

https://ujyaalonepalnews.com/archives/15101

Previous articleपर्सा चोकमा ट्यांकरले हान्दा २३ वर्षिया सिर्जनाको गयो ज्यान
Next articleजीवनमरणको दोसाँधमा चम्सुरी: रुँदै भन्छिन् “मलाई बचाउनु`होस्, म छोरीहरुका लागि बाँच्न चाहान्छु”
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।