सौराहाको आँगनीमा हुर्कंदै गरेका पुष्पा र अन्जलीको कथा

0
24

सौराहाको आँगनीमा हुर्कंदै गरेका पुष्पा र अन्जलीको कथा

निराजन घिमिरे, साउन १८, चितवन- साउनको महिना बादल संग लुकामारी खेल्दै गरेको चितवनको चर्को घाम । त्यो माथि कोरोना माहामारीले थिलथिलो बनाएको सुनसान सौराहा । महामारी नहुँदो हो त सौराहामा छुट्टै रौनक हुन्थ्यो । स्वदेशी अनि विदेशी पर्यटक वन्यजन्तु अनि चराचुरुङ्गी संग झुम्मिरहेका हुन्थे, प्रकृति संग भुलीरहेका हुन्थे। तथापि सौराहामा यतिबेला चराचुरुङ्गीका चिरबिर र वन्यजन्तुका हुँकार बेलाबेलामा सुनिन्छ । सुनसान भएकाले निकुञ्जमा निर्बाध रुपमा घुमफिर गरेर रमाइरहेका छन् वन्यजन्तु ।

 

सौराहाको यहि माहोल नियाल्दै हामी राष्ट्रिय प्रकृति संरक्षण कोषको परिसरमा छिर्यौँ । कोषको कार्यालय परिसर भित्र रहेको खुला चौरमा निस्फिक्री चरिरहेका थिए दुर्लभ प्राणी पुष्पा र अन्जली । कोषका कार्यालय प्रमुख बाबुराम लामिछाने संग अनुमती लिएर हामी पुष्पा र अन्जलीलाई नियाल्न थाल्यौं । चितवन राष्ट्रिय निकुन्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले  नवलपरासीको तमासपुरको जंगलमा बेबारिसे भेटिएकी पुष्पा (गैँडाको बच्चा) लाई सौराहा ल्याएर विगत १७ महिनादेखि हुर्काउँदै छ । संगै हुर्कंदै छिन् अर्की सानी केटि अन्जली । अञ्जलि पनि निकुञ्जमा बेवारिसे भेटिएकी गैँडाको केटी हो ।

१७ महिनाकी पुष्पा

ठुली केटि पुष्पा १७ महिनाकी भईन् । पुष्पालाई २०७६ साल माघ ५ गते नवलपरासीको दुम्कीबास बाट दक्षिण पट्टि पर्ने तमासपुर जंगलबाट उद्धार गरि सौराहा ल्याईएको हो । दलदलबाट उद्धार गरेर माउसँग भेट हुने आशमा पुष्पालाई दुई दिन सोही ठाउँको सुरक्षित स्थानमा राखिएको भए पनि माउ लिन नआएपछि पुष्पालाई माघ ५ गते सौराहा लिएर आइयो । जन्मेको केही दिन मात्रै भएको थियो । रातो कलिलो छाला भएको अवस्थाकी केटी थिई ।  प्रशव पीडामा रहेकी आमा बच्चा खोज्दै कतै भौँतारिरहेको थिई होला । पक्कै आउँछे भन्ने विश्वासका साथ निकुञ्जका कर्मचारी केही दिन कुरेर बसे । सायद बाटो भुलेर होला । उनी फर्किनन् ।  उद्धार गर्ने बेलामा पुष्पाको टाउको मात्रै बाहिर निस्किएको थियो भने बाँकी शरीर पूरै दलदलभित्रै फसेको थियो । जन्मेर आँखा खोलेको केही दिनपछि उसकी आमा बेखबर भइन् । जन्मेको दुधे बालख पुष्पा जङ्गलमा केही रात एक्लै परिन् । धन्न बाघबाट जोगिइछ ।

त्यस्तै अर्की सानी केटि अन्जली ४ महिना कि भईन् । पूर्वी नवलपरासीको रजहर बाट दक्षिण तर्फ पर्ने उजौली पोष्ट नजिकै बाट उनलाई उद्धार गरिएको हो । जंगलमा एक्लै हिडिरहेको अवस्थामा निकुन्ज कर्मचारी र सुरक्षाकर्मीको टोलीले देखेपछी उनलाई आमा संग भेटाउने ठुलो कोसिस गरेका थिए । तर आमा पत्ता लगाउन नसकेपछि उनलाई उद्दार गरेर सौराहा ल्याईएको हो । आमा बाट छुटेपछि एक्लै भौतारीएर हिडिरहेकी अन्जली निकै कमजोर बनेकी थिई । सायद टोलीले फेला नपारेको भए उ बाधको सिकार बन्थी वा हिंड्दा हिड्दै थला परेर मर्थी । ” यँहा ल्याउँदा निकै कमजोर थिई, बाँच्छ जस्तो लागेको थिएन” राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत बाबुराम लामिछानेले भने।

४ महिने केटि अन्जली

१७ महिना कि पुष्पा अहिले पूर्ण रुपमा घाँस पानीमा लागिसकेकी छ । प्राकृतिक घर चितवन राष्ट्रिय निकुञ्ज भए पनि उनी अहिले घरपालुवाजस्तै भएकी छिन् । सत्र महिने चञ्चले पुष्पा अहिले राष्ट्रिय प्रकृति संरक्षण कोषको परिसरभित्रै खेल्ने तथा वरिपरि उम्रिएका हरिया घाँसपात खाएर आफ्नो पेट भर्ने गर्छिन् । “यहाँ वरिपरि चरेको आहारले मात्रै पुष्पाको पेट भरिँदैन”, प्रकृति संरक्षण कोष सौराहाका कर्मचारी लालबहादुर महताराले भने, “पुष्पालाई दैनिकरूपमा अलि पर लगेर चराउने गरेको छु, यसका साथै उनलाई एक किलो पिठोको कुँडो पनि पकाएर खुवाउने गरेको छु ।”

त्यस्तै चार महिने अन्जली दुध मात्र खान्छिन् । घाँसपानीमा लाग्ने बेला उनको भएको छैन । अन्जलीले बिहान-दिउँसो र बेलुका गरि २५ देखि २७ लिटर दुध पिउँछिन् । बिहान दुध मात्र खाने अन्जली दिउँसो ३/४ लिटर पानी पनि पिउँछिन् । “गर्मीको दिनमा यिनलाई नुहाईदिन पर्छ”, महताराले भने । केको दुध खुवाउनु हुन्छ ? भैसी कि गाईको? भन्ने प्रश्नमा हाँस्दै महतारा भन्छन्, यिनीहरुलाई गाईभैसीको दुधमा भएको प्रोटिनले पुग्दैन, त्यसैले यिनीहरुलाई ल्याक्टोजिन खुवाउने गरिएको छ ।

राती खोरमा बस्ने पुष्पा र अन्जली बिहानीको सुर्यको किरण संगै राष्ट्रिय प्रकृति संरक्षण कोषको परिसर भित्र चर्न र खेल्न निस्कन्छन् । केही समय लालबहादुर महतरासँग खेल्छन्, रमाउँछन्, सँगै नुहाउँछन् । इसारामै कुरा गर्छन्। लालबहादुरकै काखमा लुट्पुटिनछन्,  महतरा जहाँ गयो पछि लागेर हैरान पार्छन । महतारा पुष्पा र अन्जलीलाई आफ्नै सन्तान झैं माया गर्छन । पुष्पा र अन्जलीलाई महतराले दैनिक तेल लगाएर हुर्काउनुभएको हो । “छोराछोरीलाई जसरी पालेर राखेको छु, महतराले अन्जलीलाई सुमसुम्याउँदै भन्नुभयो, “यो केटी मैले जहाँ बोलायो उतै आउँछे ।” उहाँले केटीहरुलाई गर्मि दिनमा पटक पटक नुहाई दिनुहुन्छ । दूध, गाजर, केरा र फलफूल दैनिक खुवाइन्छ । नियमित घाँस खान थालेपछि भने पुष्पालाई पाल्न अलि सजिलो भएको छ । तर अन्जली अझै सानै छिन् ।

केटीहरु सँग सेल्फी खिच्न मान्छे आउने गरेको भन्दै महताराले जनावरलाई माया गर्नुपर्ने भए पनि उनीहरुसँग सेल्फी खिच्ने, जिस्काउनेजस्ता काम गर्न नहुने बताउँछन् । सुरुमा एउटा सेल्फी हान्छु भन्दै आउँछन, तर यसरी आउनेहरुले केटीहरुलाई अनावश्यक छुने, जिस्काउने लगायत काम गर्छन, महताराले दिक्क मान्दै भने । त्यसैले अहिले पुष्पान्जली संग मानिसको सम्पर्क कम गरिएको छ । हेरचाह गर्ने महतारा बाहेक अन्य कर्मचारीहरू पनि उनीहरुलाई डिस्टर्ब नहोस भन्ने सोचले उनीहरुको नजिक जादैंनन् ।

भाले लाग्ने उमेर पुगेपछि उनीहरु आफै जंगल छिर्ने अधिकृत लामिछानेले बताए । त्यसैले उनीहरुलाई सकेसम्म अन्य मानिससंग सम्पर्कमा आउन नदिने र जंगली वातावरणमा हुर्काउने काम भईरहेको लामिछानेको भनाई छ । यि केटीहरुलाई उमेर पुगेपछि के गर्ने भन्ने विषय चै सरकारको निर्णयमा भर पर्ने उनले बताए । जंगलमा छोड्ने, चिढियाघरमा राख्ने वा कसैलाई उपहार दिन पनि यस्ता गैंडा प्रयोग गर्न सकिने उंहाले बताउनुभयो । चितवन बाट पटक पटक गरि विभिन्न देशमा २६ गैंडा उपहारको रुपमा पठाईसकिएको छ ।

नेपाल सरकारले एकसिंगे गैंडाको बाह्य बासस्थान संरक्षणको सिद्धान्तअनुसार विभिन्न मित्रराष्ट्रलाई समय–समयमा गैंडा उपहार दिँदै आएको छ । यसअघि मित्रराष्ट्र भारतलाई सन् १९८४ मा ४ तथा १९८७ र १९९० मा दुईचोटि गरेर अमेरिकालाई ६ वटा गैंडा उपहार दिइएको थियो । सन् १९९० देखि २००६ सम्म जर्मनी, बंगलादेश, बेलायत, जापान र अष्ट्रियामा दुई–दुई वटाका दरले १० गैंडा उपहार दिइएको थियो । थाइल्याण्ड, बर्मा र पाकिस्तानलाई पनि दुई–दुई वटाका दरले ६ गैंडा पठाइएको चितवन निकुञ्जको तथ्याँक छ । पछिल्लो पटक पुर्व प्रधानमन्ती केपी ओलीका पालामा जनवादी गणतन्त्र चीनलाई झण्डै २ वर्षका ‘रुपसी र भद्र’ नामका एक जोडी गैंडा उपहार दिईएको थियो ।

https://www.ujyaalonepalnews.com/archives/15276

Previous articleविदेश जान खोप लाउन खोज्दै हुनुहुन्छ? अब जानुस् यि दुई अस्पताल
Next articleरत्ननगर १६ मा स्थानीय विपद तथा जलवायु उत्थानशील योजना तर्जुमा सम्बन्धी वडा स्तरीय जोखिम विश्लेषण कार्यक्रम सम्पन्न