रत्ननगर १६ को भद्रकाली डेरीमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

निराजन घिमिरे, भदौ ५, चितवन- चितवनको रत्ननगर १६ हात्तीगाडेमा १ दिने निःशुल्क पशु स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । भद्रकाली दुग्ध उत्पादक सहकारी संस्था र रत्ननगर-१६ वडा कार्यालयको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो । शिविरबाट १०० जना कृषक लाभान्वित भएका छन् । शिविरमा रिलिफ भेटेनरी हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि को प्राविधिक सहयोग रहेको थियो ।

भद्रकाली दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष युवराज थापाको पहलमा सहकारी परिसरमै एक दिने पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा ७ जनाको प्राविधिक टोलीले हात्तीगाड़े, खैरेटी, भद्रकाली टोल, खैरहनी कुनाघारी लगायत ठाउँका कृषकका २५० ओटा पशुको गोबर परिक्षण गरिएको, पशु धनीलाई रोगब्यादी बारे परामर्श दिइएको तथा आन्तरिक र बाह्य परजीवी बिरुद्ध निशुल्क औषधी वितरण गरिएको पशु सेवा केन्द्र पिठुवाका प्रमुख सुन्दर बस्नेतले बताउनुभयो ।

शिविरको उद्दघाटन गर्दै प्रमुख अतिथि समेत रहेका रत्ननगर १६ का वडाध्यक्ष हेमराज थापाले आफ्नै गाउँठाउँमा आएको शिविर बाट धेरै भन्दा धेरै लाभ लिन स्थानीयलाई आग्रह गर्नुभयो । साथै उहाँले आफु र आफ्नो कार्यालय कृषकको साथी भएकाले कृषकका समस्याहरुलाई समाधान गर्नका लागी प्रतिवद्ध रहेको बताउनुभयो ।  कार्यक्रमको अध्यक्षता गरेका सहकारीका अध्यक्ष युवराज थापाले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा सहकारीका पुर्व अध्यक्ष विष्णु प्रसाद अर्याल लगायतले मन्तव्य राख्नुभएको थियो । स्वास्थ्य शिविरबाट लाभान्वित स्थानीयले पशुपालन र यसका समस्याका बारे नजानेका धेरै कुरा सिक्न पाएको प्रतिक्रिया दिए । उनीहरुले स्थानीय सरकार र सहकारी संस्थाबाट  समय-समयमा यस्ता कार्यक्रमहरु आए आफहरु व्यावसायिक रुपमै पशुपालनमा इच्छुक रहेको सुनाए ।

https://ujyaalonepalnews.com/archives/15484

Previous articleदुबई जानको लागी GDRFA अप्रुभल कसरी लिने? के के कागजात चाहिन्छ? सम्पूर्ण जानकारी
Next articleयुवा क्लब दर्ता प्रक्रिया: के के कागजात चाहिएला ?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।