Home Uncategorized पिठुवामा गाईको प्रतिमा अनावरण

पिठुवामा गाईको प्रतिमा अनावरण

निराजन घिमिरे, भदौ ६ चितवन । रत्ननगर नगरपालिका वडा नं–१६ वडा कार्यालय संगै रहेको पिठुवा दुग्ध उत्पादक सहकारी संस्था अगाडी गाईको प्रतिमा अनावरण गरिएको छ । वडा नं १६ को वडा स्तरीय बजेट र पिठुवा डेरीको संयुक्त लगानीमा निर्माण गरेको गाईको प्रतिमा अनावरण गरिएको हो । आज आईतबार पिठुवा डेरी परिसर कालोपत्रे उपभोक्ता समितिले आयोजना गरेको “गाईको मुर्ति उद्घाटन तथा खर्च सार्वजनिक कार्यक्रम” मा प्रमुख अतिथि मेयर नारायण वन, विशिस्ट अतिथि वडाध्यक्ष हेमराज थापा र डेरीका अध्यक्ष बद्रि प्रसाद अर्यालले सयुक्त रुपमा गाईको प्रतिमाको अनावरण गरेका हुन ।

सो अवसरमा मेयर वनले स्थानीय सरकार र दुग्ध उत्पादक सहकारी द्वारा निर्माण गरिएको गाईको प्रतिमाले पशुपालनको विकासको लागि सकरात्मक सन्देश जाने बताए । गाईको बहूपयोगिता बारे चर्चा गर्दै मेयर वनले गौमुत्र क्यान्सर लगायत अन्य रोगहरुको लागी अत्यन्त उपयोगी रहेको उल्लेख गरे । कार्यक्रममा विशिस्ट अतिथि रहेका वडाध्यक्ष हेमराज थापाले ” आफ्नो मुख्य ध्यान नै कृषि र पशुपालन क्षेत्र” मा रहेको भन्दै किसानहरुलाई कुनै समस्या छ भने आफुले गर्नसक्ने कुनै पनि काम गर्ने बताए ।

वडा नं. १६ को पहिचानको लागी आफुहरुले प्रतिमा बनाउने कार्यलाई अगाडी बढाएको जानकारी दिदै थापाले ध्रुब चोकको नाम परिवर्तन गरेर गुराँस चोक बनाएको र त्यँहा गुराँसको प्रतिमा बनाउने काम सम्पन्न भएको थापाले जानकारी दिए । स्थान अभावको कारण गुराँसको प्रतिमा बनाउने कार्यमा केहि त्रुटी भएको स्वीकार गर्दै थापाले अब हात्तीगाड़ेमा हात्ती गाडिएकै स्थानमा हात्तीको प्रतिमा स्थापना गर्ने कार्य अगाडी बढेको उनले जानकारी दिए ।

त्यस्तै कार्यक्रमका सभापति पिठुवा डेरीका अध्यक्ष बद्रि अर्यालले अहिले पनि पशुपालनलाई हेर्ने नजरिया गलत भएको बताए । अन्य क्षेत्रमा केहि गर्न नसकेपछि गाई पालेर बसेको छ भन्ने सोच हटाउनुपर्ने उनको जोड थियो । कोरोनाको कारण सहकारीमा सकेजति काम गर्न नसकिएको भन्दै अर्यालले दैनिक करिब तिन हजार लिटर दुध संकलन गर्ने गरिएकोमा कोरोनालगायत विविध कारणले कमि आएको बताए । त्यस्तै खोरेत रोग बाट पनि यसपाली आफुहरु निकै पिडित बन्नुपरेको उनको भनाई छ । यति हुँदाहुँदै पनि रत्ननगर १६ को तीनवटा दुग्ध उत्पादक सहकारी मार्फत यँहाका किसानले मासिक एक करोड भन्दा बढी रकम भित्राईरहेको उनको दाबी छ ।

वडा नं १६ को ६० प्रतिशत र सहकारीको ४० प्रतिशत बजेट बाट डेरी अगाडीको सडक पिच, पर्खाल र गाईको प्रतिमा स्थापना गरिएको हो । गाईको प्रतिमा स्थापना गर्न एक लाख पच्चीस हजार रुपैयाँ खर्च भएको संस्थाका अध्यक्ष अर्यालले जानकारी दिए । सहकारीका सचिव रामचन्द्र दुवाडीले संचालन गरेको कार्यक्रममा वडा सदस्य  त्रय बिष्णु प्रसाद रिमाल, नेत्र बहादुर रायमाझी, पवित्रा गुरुङ, भद्रकाली दुग्ध उत्पादक सहकारीका अध्यक्ष युवराज थापा, पिठुवा लायन्सका अध्यक्ष विष्णु प्रसाद अधिकारी लगायत अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।

https://ujyaalonepalnews.com/archives/15493

Previous articleयुवा क्लब दर्ता प्रक्रिया: के के कागजात चाहिएला ?
Next articleअब भिजिट भिषामा पनि युएई जान सकिने तर यस्तो छ शर्त
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।