जसरी पनि MCC पास गराउने देउवाको रणनिति, आन्दोलनको डरले आर्मी पुलिस हाईअलर्ट

0
64

सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) जसरी पनि संसद्बबाट अनुमोदन गराउने तयारी थालेपछि गृह मन्त्रालयले सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएको छ। संसद्मा एमसिसी अनुमोदनका लागि पेस भएपछि देशव्यापी आन्दोलन चर्किने सम्भावनालाई ध्यानमा राखेर मन्त्रालयले चारवटै सुरक्षा निकायलाई यस्तो निर्देशन दिएको हो। ‘सामान्य अवस्थाबाहेक केही समस्या आउन सक्छ।

यो महिनाभरि नै हाई अलर्टमा रहनु, अहिले एमसिसीविरुद्ध आन्दोलन भइरहेको छ, भारतविरोधी आन्दोलन पनि चर्कन सक्छ। यी विषयलाई ध्यानमा राखेर सुरक्षा अवस्था मजबुत बनाउनु भन्ने निर्देशन छ’, उच्च सुरक्षा स्रोतले भन्यो, ‘सुरक्षा निकाय सधैं नै (२४ सै घण्टा) हाई अलर्ट रहन्छ तर पनि विशेष अवस्था आउन सक्छ भनिएको छ।’ एमसिसीका विषयमा सरकारी अधिकारीसँग छलफल गर्न एमसिसी उपाध्यक्ष फतिमा सुमार मंगलबार काठमाडौं आउँदैछिन्।

सरकारले सुरक्षा निकायलाई हाई अलर्टमा मात्रै राखेको छैन, विज्ञप्ति जारी गरेर एमसिसी र भारतको विरोध नगर्न अपिल गरेको छ। ५० करोड अमेरिकी डलरको एमसिसी परियोजना नेपालमा लागु गर्ने विषयमा नेपाल सरकारसँग सन् २०१७ मा सम्झौता भए पनि संसद्बाट अनुमोदन हुन नसकेका बेला उपाध्यक्ष सुमारको नेपाल भ्रमण हुन लागेको हो। सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतसँग भेटेर एमसिसी संसद्बाट अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गर्नेेछिन्।

‘एमसिसी उपाध्यक्ष सुमार नेपाल आउने र त्यसकै भोलिपल्ट संसद् अधिवेशन बोलाउनुमा पनि अर्थ रहेको छ। सुरक्षा अवस्था कडा राख्न निर्देशन आउनुले पनि एमसिसी संसद्मा टेबुल हुने संकेत छ’, सुरक्षा निकायका एक अधिकारीले भने।नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारलाई समर्थन गरिरहेको एउटा दलले सीमा क्षेत्रमा भारतीय हस्तक्षेप र एमसिसीको विरोध गर्दै सडकमा आन्दोलन गरिरहेको छ।

सडकमा आन्दोलन हुन थालेपछि सरकारले त्यसविरुद्ध आन्दोलन नगर्न चेतावनी पनि दिएको छ। भारतीय सीमा सुरक्षा बलका जवानले तुइन काटिदिएपछि दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको विरोधमा नेकपा एसका युवा, विद्यार्थीले शुक्रबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला जलाएपछि सरकारले आन्दोलन नगर्न चेतावनी दियो।

https://www.ujyaalonepalnews.com/archives/15731

Previous articleटाँडी चोकको एटुजेड मोबाईलको सटर फोडेर लाखौँको मोबाइल चोरी
Next articleरत्ननगर १६ मा युवा संघको अगुवा कार्यकर्ता भेला सम्पन्न; सुलज मगरको अध्यक्षतामा वडा कमिटी गठन