रत्ननगर । पूर्वी चितवनको रत्ननगर अस्पतालमा मंगलवार पिसीआर प्रयोगशाला र अक्सिजन प्लान्ट उद्घाटन गरिएको छ । बागमती प्रदेशकी मुख्य मन्त्री अष्टलक्ष्मी शाक्यले एक औपचारिक कार्यक्रमका बीच दुई महत्वपूर्ण सेवाको उद्घाटन गरेकी हुन । सो अबसरमा मुख्य मन्त्री शाक्यले प्रदेश भित्रका सरकारी अस्पतालमा स्वास्थ्य उपकरण अभाव हुन नदिने बताएकी छन् ।
स्वास्थ्य सेवा पाउने नागरिकको अधिकार सुनिश्चित गर्न प्रदेश सरकार लागि परेको भन्दै उनले चितवन र मकवानपुरका सरकारी अस्पताललाई जोडेर सेवा प्रवाहलाई प्रभाकारी बनाउने बताइन । मुख्य मन्त्रीले उद्घाटन गरेसंगै सो अस्पतालमा पिसीआर प्रयोगशाला र अक्सिजन प्लान्टको सेवा सुरु भएको छ । कोरोना संक्रमितको उपचारलाई प्राथमिकतामा राखेर बागमती प्रदेश सरकारले अत्याधुनिक प्रविधिसहितको अक्सिजन प्लान्ट प्रदान गरेको हो ।
बाहिरी वातावरणबाट तानेर अक्सिजन संकलन गर्न सक्ने क्षमतासहितको सो अक्सिजन प्लान्टले दैनिक ५० सिलिन्डर उत्पादन गर्ने अस्पतालका मेसु डा.विश्वबन्धु बगालले बताए । प्लान्टमा संकलन भएको अक्सिजनलाई पाइपमार्फत बिरामी भएको बेडसम्म लैजान सकिने उनले बताए । त्यसका लागि अस्पतालले पाइपलाइन व्यवस्थापन गरेको छ । कोरोना परीक्षणको लागि प्रदेश सरकारले सो अस्पतालमा पिसिआर प्रयोगशाला निर्माण गरेको हो
प्रयोगशालामा मेसिन जडान गरी सञ्चालनको लागि स्वास्थ्यकर्मीहरुलाई तालिम समेत दिइएको मेसु बगालले जानकारी दिए । कार्यक्रममा सामाजिक विकास मन्त्री विजय सुवेदी र स्वास्थ्य मन्त्री प्रदिपकुमार कटुवालको समेत उपस्थिति रहेको थियो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपालराज कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगरका मेयर नारायण वन,पूर्व शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारी,अस्पतालका पूर्व अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा उपमेयर विमला दुवाडी सहित जनप्रतिनिधि,अस्पतालका कर्मचार्य तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
https://www.ujyaalonepalnews.com/archives/15879