Home Uncategorized मलेशियामा तिगा-पुलो र लिमा-पुलोको पछी लागेर बेपत्ता हुने नेपालीको कथा

मलेशियामा तिगा-पुलो र लिमा-पुलोको पछी लागेर बेपत्ता हुने नेपालीको कथा

0
39

उज्यालो नेपाल –  मलेशिया नेपालीहरुको प्रमुख रोजगार गन्तव्य मध्ये एक हो । रोजगारीकै लागी लाखौँ नेपाली मलेशिया आउने जाने गरिरहन्छन् । रोजगारीको लागी मलेसिया पुगेका केहि नेपाली भने परिवारको सम्पर्कबाट टाढा हुने गरेको विभिन्न घटना क्रम र अध्ययनहरुले देखाएका छन् । वैदेशिक रोजगारीको क्रममा विभिन्न मुद्दामा जेल पर्नु, पे्रम सम्बन्ध, पारिवारिक मनमुटाव, रोजगारीकै क्रममा विदेशमा मृत्यु, दुर्घटनामा पर्नु, घरेलु कामदारको हकमा रोजगारदाताले बन्दी बनाउनु, व्यक्तिगत चाहनालगायत कारणबाट विदेशिएका नेपाली परिवारको सम्पर्कमा नआएका बुझिएको छ ।

आप्रवासी कामदारको हक, अधिकारको क्षेत्रमा क्रियाशील प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) मा पछिल्लो ६ वर्षको अवधिमा परेको उजुरीअनुसार वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा पुगेकामध्ये २०० नेपाली परिवारको सम्पर्क बाहिर छन् । यो त उजुरी परेकाको मात्र संख्या हो । अन्य उजुरी नपरेका धेरै नेपालीका परिवार अझै आफ्ना आफन्त कुरेर बसिरहेका छन् ।

मुस्लिम देश भएर पनि मलेशियामा कानुन निकै खुकुलो छ । यहि खुकुलो कानुनको फाईदा उठाएर मलेशिया पुगेका केहि  नेपालीहरु मोजमज्जा र रस-रमाईलोमा भुल्ने गरेका छन् । विशेष गरि विदेशी कामदारहरु लक्षित गरेर संचालन गरिएका होटल, दोहोरी, क्लब, मिनी क्यासिनो, यौन अड्डा लगायतका कारण धेरै नेपाली युवाहरु कुलतको दलदलमा फसिरहेका छन् । मलेशियाको केएल, केलांग, पेनांग, पेराक, जोहोरबारु लगायतका शहरहरुमा नेपाली श्रमिकहरुलाई नै लक्षित गरेर हजारौं होटल रेष्टुराँ र मसाज सेन्टर संचालन गरिएका छन् ।

यि होटल रेष्टुराँ तथा क्लबहरुमा युवाहरुलाई आकर्षित गर्नकै लागी महिला कामदारहरु राखिएका छन् । परिवार र श्रीमती छोडेर जवानीमा विदेश भाशिनेहरु यिनै महिला कामदार संग जिस्कने र रमाईलो गर्न पाउने आसमा ति होटल रेष्टुरा पुग्नेगरेका छन् । नेपालीहरु द्वारानै संचालित यस्ता होटल रेष्टुराँहरुमा युवाहरुलाई आकर्षित गर्नको लागी नेपाली युवतीहरु नै प्रयोग हुनेगरेको पाईएको छ। वेटरका रुपमा कार्यरत यस्ता युवतीहरु कमाई बढाउन यौन धन्दामा संलग्न हुनेगरेको पाईएको छ ।

विशेष गरेर नाच्नको लागी भन्दै मलेशिया पुर्याईएका र कम्पनी छोडेर ईलिगल भएका नेपाली युवतीहरु यस्ता धन्दामा लाग्ने गरेका छन् ।  आइतबार र छुट्टिको दिन प्रायः नेपाली केटा र केटीले त्यहाँका लजहरु भरिने गरेको छ ! , ‘केलागं, कोताराया, पेनांग, जोहर, बतुपाहक जस्ता ठाउँ यौन व्यापारी केन्द्र हुन् । यहाँसम्मकी नेपाली केही होटलहरुले पनि केलागं, कोताराया, पेनांग, जोहर, बतुपाहक लगायत ठाउँहरुमा यौन व्यवसाय चलाइएको पाइन्छ ।

सुरु सुरुमा महिनाको एकदुई पटक यस्ता ठाउँमा पुग्ने नेपाली युवाहरु बिस्तारै यसको लतमा फस्न पुग्छन । कमाएको पैसा यस्तै काममा सकिन थालेपछि उनीहरु बिस्तारै परिवारको सम्पर्कमा आउन छोड्छन् । घरमा फोन गर्दा पैसा माग्ने, पैसा कता खर्च गरिस् भन्दै सोधखोज हुने भएपछी घरमा फोन गर्ने छोड्ने र उतै बेपता हुने क्रम बढ्दो छ । अझ मलेशियामा संचालन गरिएका यौन कोठीहरूमा धाउने नेपालीहरुको कहानी छुट्टै छ । कमाएको पैसा सबै यस्ता कोठीहरूमा सिध्याउने नेपाली युवाहरु मलेशियामा हजारौ छन् । यस्ता कोठीहरूमा तिगा-पोलो (३० रिंगेट ) देखि बार्गेनिंग सुरुहुने नेपालीहरु नै बताउँछन् । यिनै कोठीहरूमा भुलेर घर बर्सने नेपाली मलेशियामा थुप्रै छन् ।

 

अर्को कारण ईन्डोनेशियन युवतीको प्रेम  

नेपालीहरु रोजगारीको लागी मलेशिया गए जस्तै रोजगारीकै लागी मलेशुया आउने ईन्डोनेशियनहरुको संख्या ठुलो छ । विशेष गरि हल्का सामाग उत्पादन हुने कम्पनीहरुमा यस्ता ईन्डोनेशियन युवतीहरु कार्यरत छन् ! तिनै ईन्डोनेशियन युवतीहरु संग काम गर्ने नेपाली युवाहरु प्रेमको दलदलमा फसेर घर बिर्सनेगरेको मलेशियाकै शाहालाममा रहेको पानासोनिक कम्पनीमा कार्यरत मकवानपुरका पूर्ण गोलेले बताए । आफु संगै काम गर्ने धेरै नेपाली युवाहरु ईन्डोनेशियन युवतीहरु संग प्रेममा परेर लिभिंग टुगेदरमा बसिरहेको उनको भनाई छ । यसरी बस्न थालेपछि कमाएको तलब उतै सकिने र पैसा पठाउन नसकेपछि घरमा सम्पर्क टुट्ने गरेको छ ।

केहि नेपालीहरु यिनै ईन्डोनेशियन युवती संगको प्रेमको द्वन्दको कारण पनि बेपता हुनेगरेका छन् । मलेशियामा रहेका भारतीय मुलका मलेशियन युवाहरु र नेपाली युवाहरुको रोजाई जुद्धा बेलाबखत नेपालीहरुले ज्यान गुमाउने र बेपत्ता हुने क्रम पनि बढेको छ। आफुले मनपराएका युवतीलाई नेपाली युवाले मनपराएको वा जिस्काएको थाहा पाएमा भारतीय मुलका मलेशियन ( तामिल) हरुले गौडा ढुकेर आक्रमण गर्ने गरेको घटना मलेशियन कम्पनीहरुमा सामान्य जस्तै हो ।

घरपरिवारको रोजीरोटी र सुन्दर भविष्य निर्माण गर्न विदेशिएका नेपाली युवाहरु यस्तो दलदलमा फस्दा घरमा रहेका परिवारका सदस्यहरुलाई निकै ठुलो पिडा हुने गरेको छ । परिवारले आफ्नै तरिकाले खोजबिन गरिरहेपनि विदेशी भूमिमा हराइरहेको कामदारका बारेमा पर्याप्त विवरण नहुँदा खोजीकार्यमा चुनौती हुने गरेको छ । यस्तै कतिपय कामदार स्वेच्छाले सम्पर्कमा आउन नचाहँदा पनि खोजीकार्य गर्न अप्ठयारो हुने गरेको छ । मलेशियामा रहेका नेपाली युवाहरु आफै सचेत नभएसम्म यस्ता घटनाहरुमा कमि नआउने देखिन्छ। यदि तपाई पनि मलेशियामा कार्यरत हुनुहुन्छ भने  यस्ता कुराहरु बाट बचेर बस्नुहोला ।

https://www.ujyaalonepalnews.com/archives/16156