पोखरा– नेपालको पहिलो दोहोरी च्याम्पियनको उपाधि प्रकाश पराजुली र मिना बुढाथोकीले जित्नुभएको छ । पोखरामा शनिबार साँझ भएको ग्रान्ड फिनालेमा पराजुली र बुढाथोकी समूहले जितेको हो । पोखरास्थित बाराहीघाटमा हजारौं दर्शकबीच भएको कार्यक्रममा विजेता समूहले नगद २० लाख रुपैयाँ साथमा १ करोड रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छ । दोस्रो भएको छ शोभा कार्की र बालचन्द्र बरालको समूह ।
उपविजेता समूहले नगद १० लाख रुपैयाँ तथा ५० लाख रुपैयाँ बराबरको जीवन बिमा पुरस्कार पाएको छ । विजेता, उपविजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार प्रदान गर्नुभयो । कि एड्भटाइजिङ प्रालिको प्रायोजनमा नेपाल टेलिभिजनले नेपालको पहिलो दोहोरी च्याम्पियन रियालिटी शो सञ्चालन गरेको हो ।
डिजिटल अडिसनबाट छनोट भएकामध्ये ३५ समूहको फिजिकल अडिसन हुँदै उत्कृष्ट २४ समूह छनोट गरिएको थियो । २४ समूहबीच प्रतिस्पर्धा हुँदै ‘दोहोरी च्याम्पियन’ फिनालेसम्म पुगेको हो । यसको निर्णायकमा गायक प्रजापति पराजुली, गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार रमेश बि.जी. र गायक तथा गीतकार चन्द्र शर्मा छन् ।
गायक बद्री पंगेनी र गायिका प्रिती आलेले यसमा कार्यक्रम संचालकको भूमिका निर्वाह गर्दै आएका छन् । नेपाल टेलिभिजनमा शनिबार राति ८ः५० बजेबाट ‘दोहोरी च्याम्पियन’ प्रशारण हुँदै आएको थियो । कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल तामाङले ‘दोहोरी च्याम्पियन– २’ सञ्चालन गर्ने घोषणा गर्नुभयो ।
https://ujyaalonepalnews.com/archives/16250


