नेपालीको दुर्दशा: पासपोर्ट बनाउनेको भिड, पिसाब फेर्न जाँदा पालो मिचिने डर

0
43

१४ कात्तिक, काठमाडौं । काठमाडौंमा राहदानी (पासपोर्ट) बनाउनेहरुको लामो लाइन लागेको छ । राहदानी विभाग अगाडिको लाइन उत्तर ढोकासम्म पुगेर घुमेको छ । विदेश जाने प्रयोजनका लागि पासपोर्ट बनाउने गरिन्छ । पासपोर्ट बनाउने लाइनमा युवा–युवतीहरु बढी देखिन्छन् । छिटो पालो पाइने आशाले चार बजे बिहानैदेखि लाइनमा बसेको एकजना सेवाग्राहीले बताए । ‘बिहान चार बजे लाइन बसेको बल्ल पालो आयो’, उनले भने ।

उनले भने, एकछिन लाइन छोड्दा पालो मिचिन्छ भन्ने डरले पिसाब फेर्न जानसमेत पाइएन ।’ धेरैजसोले लाइनमा बसुन्जेल शौच गर्न साह्रै समस्या भएको गुनासो गरेका थिए । अमेरिकी डिभी चिट्ठा खुलेदेखि पासपोर्ट बनाउन आवेदन दिनेहरुको संख्या बढेको राहदानी विभागका कर्मचारीहरु बताउँछन् ।

ई-पासपोर्ट जारी गर्ने बेला एमआरपी बनाउनेको लर्को

दशैंपछि नारायणहिटीस्थित राहदानी विभागमा पासपोर्ट बनाउनेहरु भीड अत्याधिक बढेको छ । सरकारले विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्न तयारी भइरहेकाले अत्यावश्यक भएमात्रै पासपोर्ट बनाउन अनुरोध गरिरहेको बेला विभागको क्षमताभन्दा बढी सेवाग्राही आउन थालेका छन् । विभागका प्रशासन महाशाखा प्रमुख डिल्लीराम आचार्यका अनुसार अमेरिकी डाइभर्सिटी भिसा (डीभी) भर्नेहरुका कारण भीड अत्याधिक बढ्न गएको हो । अमेरिकी सरकारले केही वर्षदेखि डीभी भर्न पासपोर्ट अनिवार्य गरेको छ । अहिले ‘ईडीभी-२०२३’ खुला छ । २० असोजदेखि खुलेको ईडीभी फारम २३ कात्तिकसम्म भर्न सकिन्छ ।

डीभी भर्नेहरु पासपोर्ट लिन आएपछि विभागमा पछिल्ला दिनमा पासपोर्टको लागि दैनिक तीन हजारभन्दा बढी आवेदन परिरहेको छ । ‘विभागमा सोझै आवेदन दिने एक हजारभन्दा बढी छन्,’ उनले भने, ‘जिल्ला र विदेशस्थित नियोग र मिसनबाट पनि १५ सयदेखि २ हजारसम्म आवेदन आउँछन् ।’ त्यसैअनुसार विभागले पासपोर्ट जारी पनि गर्दै आएको छ । विभागले भीड बढेपछि आफ्ना जनशक्तिलाई अधिकतम प्रयोग गरेर पासपोर्ट जारी गर्ने काम गरिरहेको उनले बताए । ‘हामीले सेवाग्राहीलाई केको लागि पासपोर्ट भनेर सोध्दा ८० प्रतिशतले डीभी भर्नका लागि भन्नुभएको छ,’ आचार्यले भने ।

पछिल्ला दिनमा विभागले लाइनमा बस्ने सबैबाट आवेदन लिन सकिरहेको छैन । प्रशासन प्रमुख आचार्यका अनुसार क्षमताभन्दा धेरै सेवाग्राही आए भोलिपल्ट आउने गरी टोकन बाँड्ने गरिएको छ । आइतबार राहदानी विभाग अगाडिको लाइन लैनचौर चोक हुँदै उत्तर ढोकासम्म पुगेको थियो । विभागका कर्मचारीका अनुसार रातिदेखि नै सेवाग्राही लाइनमा आएर बस्ने गरेका छन् । सेवाग्राहीलाई लामो समयसम्म लाइन बस्नुपर्दा पालो मिचिने डरले शौच गर्न जान समेत समस्या पर्ने गरेको छ ।

चाडपर्वमा विदेशमा रहेकाहरु स्वदेश आएका बेला पासपोर्ट नवीकरण गर्ने गरेका कारण पनि चाप बढेको अनुमान विभागका अधिकारीहरुको छ । चाडबाड मनाएपछि विदेश जान खोज्नेहरु पनि बढी हुने गरेका छन् । महामारीपछि अध्ययन, भ्रमण, व्यापार लगायतका भिसामा विदेश जानेहरु पनि बढेका छन् । यसले पनि भीड बढाउन भूमिका खेलेको छ । तर, मूल रुपमा भने डीभी भर्नका लागि नै सेवाग्राहीहरु लाइनमा आएको विभागको अनौपचारिक अध्ययनमा देखिएको छ । सामान्य अवस्थामा महिनामा ४० देखि ५० हजारसम्म पासपोर्ट वितरण हुन्छ । तर, पछिल्ला दिनको भीड हेर्दा संख्या दोब्बर हुने देखिएको छ । अनलाईन खबर बाट 

 

https://www.ujyaalonepalnews.com/archives/16253

Previous articleराष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक अलमुताइरी थप दुई वर्ष नेपालमै रहने
Next articleमलेशियामा नेपाली समुदायलाई गा’ली-गलौज गर्ने बंगाली प्रहरी हिरासतमा (भिडियो)