पूर्णबहादुर खड्का र धनराज गुरुङ काँग्रेस उपसभापति निर्वाचित

काठमाडौं ,मसिर २९ गते । नेपाली काँग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनुभएको छ । बुधबार भएको उपसभापतिको मतगणनामा अन्य प्रतिस्पर्धीलाई पराजित गर्दै खड्का र गुरुङ विजयी हुनुभएको हो । उपसभापतिका उम्मेदवार विजयकुमार गच्छदार झिनो मत अन्तरले पराजित हुनुभएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार खड्का दुई हजार ७६ र गुरुङ १८ सय ६९ मत ल्याएर विजयी हुनुभएको हो । गच्छदार नौ मतले धनराजसँग पराजित हुनुभएको छ । उहाँले १८ सय ६१ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी चन्द्र भण्डारीले १५ सय ५१ मत पाउनुभएको छ । उपसभापति पदका उम्मेदवार महेश आचार्य, सुजाता कोइराला र दिव्यश्वरी शाह ठूलो मत अन्तरले पराजित हुनुभएको छ । यसको औपचारिक घोषणा भने भइसकेको छैन । यसअघि नै पार्टी सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । महामन्त्री र अन्य पदाधिकारीको मतगणना भने बिहीबार बिहानदेखि हुनेछ ।

पार्टी सभापतिका लागि दोस्रो चरणमा भएको मतदानबाट शेरबहादुर देउवा निर्वाचित हुनुभएकाे हाे । पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पाउन नसकेपछि मङ्गलबार बढी मत पाउने शेरबहादुर देउवा र डा शेखरप्रसाद कोइरालाबीच दोस्रो चरणको मतदान भएको थियो । दोस्रो चरणको मतदानमा देउवा सभापति निर्वाचित हुनुभएको छ ।

https://ujyaalonepalnews.com/archives/16793

Previous articleविदेश बाट फर्किएकाले २ हप्तामै ल्याए ९४ किलो सुन; सरकारले असुल्यो ९ करोड राजस्व
Next articleकाँग्रेस महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्री रिजालको राजीनामा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।