सौराहा, माघ १४ । चितवनको सौराहामा रहेको सपना स्कुल र ललितपुरको युलेन्स एजुकेशन फाउण्डेशन बीच शैक्षिक सहकार्य गर्ने सहमति भएको छ । दुबै विद्यालयको शिक्षण शिकाइलाई प्रभावकारी बनाउदै शिक्षाको गुणस्तर विकास गर्ने उद्देश्यले सहकार्य गरिएको हो । शुक्रवार सौराहामा आयोजित कार्यक्रममा शैक्षिक सहकार्यको लागि दुई पक्षीय सम्झौता गरिएको छ ।
सपना स्कुलका संरक्षक ध्रुव गिरी र युलेन्स एजुकेशन फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत डा अरनिको पाँडेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । रत्ननगरका मेयर नारायण वन, वडाध्यक्षहरु बलराम दाहाल, राजन भट्ट, सपना भिलेज सोसल इम्प्याक्टका निर्देशक डा कृष्णप्रसाद पौडेल, युलेन्स एजुकेशन फाउण्डेशनकी कार्यक्रम विकास अधिकृत अनुष्का पाण्डेको रोहबरमा दुई विद्यालय बीच सम्झौता भएको हो ।
सपना र युलेन्स स्कुलले अबलम्बन गरेको शिक्षण सिकाइ पद्दती समान भएकाले सहकार्य सम्भव भएको प्रमुख कार्यकारी अधिकृत डा पाँडेले बताए । सम्झौतापत्रमा चार मुख्य विषयहरुलाई प्राथमिकता दिएको छ । सपनाले अबलम्बन गरेको खैल्दै सिक्दै सिकाइ पद्दतीलाई संस्थागत रुपमा अगाडि बढाउने, सपना स्कुलको शैक्षिक विकासको लागि योजना निर्माणमा युलेन्सले सहयोग गर्ने, युलेन्सको अनुभव र विशेषतालाई सपना स्कुलमा प्रयोग गर्ने, युलेन्सको पाठ्यक्रमका आधारमा सपना स्कुलमा पढाई सुरु गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

त्यसैगरी सपना स्कुलका शिक्षकहरुलाई युलेन्समा सिक्ने अवसर प्रदान गर्ने र युलेन्सका विद्यार्थीहरु शैक्षिक भ्रमणमा आउदा सपना स्कुलले सहयोग गर्ने गरी सहमती भएको सपना स्कुलका संरक्षक गिरीले बताए । कार्यक्रमका प्रमुख अतिथि रत्ननगरका मेयर नारायण वनले युलेन्स जस्तो नाम चलेको विद्यालयसंग सपना स्कुलले सहकार्य गर्नु रत्ननगरकै लागि सुखद भएको बताए ।
सपना स्कुल व्यवस्थापन समितिकी अध्यक्ष बर्षा पुरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष लालबहादुर भट्ट, नगर शिक्षा अधिकारी बद्रिनारायण शर्मा, सपना स्कुलका सचिव मेघराज पुरी लगायतले मन्तव्य राखेका थिए । सपना भिलेन सोसल इम्प्याक्टद्धारा सञ्चालित सपना स्कुलमा हाल २५ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।
चितवनका अरु पनि ताजाताजा खबरहरु थाहा पाउनको लागी ‘चितवनको खबर’ ग्रुपमा ज्वाईंन हुनुहोला ! ग्रुपमा ज्वाईंन हुनको लागी यँहा क्लिक गर्नुहोला !
https://ujyaalonepalnews.com/archives/17359


