१२ वर्षिया बालिका माथि यौन दुर्व्यवहार; पक्राउ गर्न गएको प्रहरीमाथि स्थानीयको आक्रमण एकजना प्रहरी जवानको मृत्यु

0
64

विराटनगर । यौन दुर्व्यवहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गर्दा एक जना प्रहरी जवानको मृत्यु भएको छ । मोरङको लेटाङमा आइतबार साँझ स्थानीयवासी र प्रहरीबीच झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको हो ।

कोशी अञ्चल अस्पतालले महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको घोषणा गरेको १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगरका एसपी नविन राईले  बताए । यौन दुर्व्यवहार आरोपी लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न पुगेको प्रहरी टोली र स्थानीयबीच आइतबार दिनभर झडप भएको थियो ।

त्यसक्रममा नेपाल प्रहरीको प्रदेश प्रहरी गणमा कार्यरत महिला प्रहरी जवान श्रेष्ठ गम्भीर घाइते भएकी थिइन् । उनको घाँटीमा गम्भीर चोट लागेको थियो ।

लेटाङमा स्थानीयको आक्रमणमा एक जना प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै आज बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु लगाएका हुन् ।

आज बिहानैदेखि कर्फ्यु

दक्षिणमा लेटाङ नगरपालिका वडा नं. ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, लटाङ नगरपालिका वडा नम्बर ५ को सबै क्षेत्र, उत्तरमा लेटाङ नगरपालिका वडा नं. ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यु लगाइएको प्रजिअ दाहालले जानकारी दिए ।

https://www.ujyaalonepalnews.com/archives/17927

Previous articleथप ५१ जनामा कोरोना सङ्क्रमण
Next articleनेप्सेद्वारा सूचीकृत कम्पनीहरूको वर्गीकरण