महसुल नबुझाएका ग्राहकहरूबाट ४८ लाख रुपैयाँ असुल

पर्वत । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले महसुल नबुझाएका ग्राहकहरूबाट ४८ लाख रुपैयाँ असुल गरेको छ । कार्यालयले पटक पटक ताकेता गर्दा समेत अटेरी गर्ने ग्राहकहरूबाट सो रकम असुल गरेको हो । मिटर रिडिङ गरेको ६० औँ दिनसम्म पनि विद्युत् महसुल नबुझाएका ग्राहकलाई सूचना मार्फत विद्युत् महसुल बुझाउन कार्यालयले सूचना जारी गरेको थियो ।

पर्वत वितरण केन्द्रले ६०औँ दिनसम्म पनि महसुल नबुझाएका ग्राहकहरूको विद्युत् लाइन जुनसुकै समयमा पनि काट्न सुरु गरेको थियो । कार्यालय प्रमुख शिव नारायण गोशली भन्नुहुन्छ, ‘तीन सय पाँच जनाले समयमा नै शुल्क नबुझाएको हुनाले लाइन काटिएको थियो । उनीहरूबाट फागुनको मसान्तसम्म ४८ लाख २६ हजार रुपैयाँ असुल गरिएको छ, । ’ गोशलीका अनुसार अझै पनि ग्राहकहरूलाई समयमा नै कार्यालयले निकालेको सूचना अनुसार शुल्क तिरेर सुविधा लिन समेत ग्राहकलाई अनुरोध गरिएको छ ।

केही महिना अगाडिदेखि सुरु गरिएको यो अभियानअन्तर्गत फागुन मसान्तसम्म असुल गर्न बाँकी रहेकोमध्ये ४८ लाख २६ हजार रुपैयाँ असुल गरिएको छ ।  कार्यालय प्रमुख गोशलीले विद्युत् महसुल सङ्कलन विनियमावली २०७८ को विनियम ८ को उपविनियम २ मा मिटर रिडिङ गरेको ३१ औँ दिनदेखि ४० औँ दिनसम्म विद्युत् महसुल बुझाएमा १० प्रतिशत थप दस्तुर लाग्ने र ४० औँ दिनपछि महसुल बुझाएमा थप २५ प्रतिशत दस्तुर लाग्ने बताउनुभयो । यस्तै, विनियमावलीको विनियम १० मा मिटर रिडिङ गरेको ६० औँ दिनसम्म विद्युत् महसुल नबुझाएमा बिना सूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काटिने व्यवस्था रहेअनुसार पर्वतमा पनि सोही नियममा टेकेर बाँकी रहेको महसुल असुल गरिएको उहाँको भनाइ छ ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म लाइन काटिएका तीन सय पाँच जनामध्ये दुई सय ५३ जनाले बक्यौता तिरेकाले उनीहरूको लागि पुन विद्युत् जडान गरिएको छ भने ५२ जनाले अझै तिर्नुपर्ने शुल्क बुझाएका छैनन् । नबुझाएका ग्राहकहरूलाई कालो सूचिमा राखेर कार्यालयले कारबाही गर्ने प्रमुख गोशलीले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/18018

Previous articleनेपाल पत्रकार महासंघ गोरखाको भवन शिलान्यास
Next articleबिमा सर्भेयर र बिमा अभिकर्ताको इजाजतपत्रको नवीकरण डिजिटल माध्यमबाट
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।