बिमा सर्भेयर र बिमा अभिकर्ताको इजाजतपत्रको नवीकरण डिजिटल माध्यमबाट

Click Image

काठमाडौँ । बिमा समितिले बिमा सर्भेयर र बिमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न शुरु गरेको छ ।

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले आज ललितपुरको कुपण्डोलस्थित समितिको कार्यालयमा बिमा सर्भेयर र बिमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्ने कार्यको शुभारम्भ गर्नुभयो ।

त्यस अवसरमा अध्यक्ष सिलवालले देशका विभिन्न स्थानमा रहेका बिमा सर्भेयर र बिमा अभिकर्ताले अब आफू रहेकै स्थानबाट डिजिटल माध्यमबाट आफ्नो इजाजत पत्रको नवीकरण गर्न पाउने अवसर उपलब्ध भएको बताउनुभयो ।

अध्यक्ष सिलवालले देशका पूर्वदेखि पश्चिम र हिमालदेखि तराईसम्म छरिएर रहेका झण्डै तीन लाखको सङ्ख्यामा रहेका बिमा अभिकर्ताले डिजिटल माध्यमबाट नै इजाजत पत्र नवीकरण गर्न पाउने भएबाट बिमाको पहुँच विस्तारमा समेत महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशकहरू सुशीलदेव सुवेदी र दिनेश कुमार लाल उपस्थित हुनुन्थ्यो ।

कार्यक्रममा बिमा समितिका निर्देशक कमल प्रसाद रेग्मीले इजाजत पत्रको डिजिटल नवीकरणका बारेमा चर्चा गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन समितिका सहायक निर्देशक शम्भुप्रसाद मिश्रले गर्नुभएको थियो ।

नेपाल राष्ट्र बैङ्कबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिप्राप्त संस्था नेपाल क्लियरिङ हाउस लिमिटेडको कनेक्ट आइपिएस मार्फत डिजिटल माध्यमबाट इजाजत पत्र नवीकरणका लागि लाग्ने दस्तुर बिमा समितिको खातामा बुझाएर बिमा सर्भेयर र बिमा अभिकर्ताले इजाजत पत्र नवीकरण गर्न सक्ने व्यवस्था गरिएको छ ।

नवीकरण भएको इजाजत पत्रका बारेमा सम्बन्धित बिमा सर्भेयर र बिमा अभिकर्ताले बिमा समितिको वेभ साइटमा गएर आफ्नो इजाजत पत्रको नम्बर र जारी मिति टाइप गरेपछि जानकारी प्राप्त गर्न सक्ने छन् ।

अनलाइन प्रणालीमार्फत बिमा सर्भेयर र बिमा अभिकर्ताको इजाजत पत्रको नवीकरण कार्यको सुरुवात भएसँगै इजाजत पत्र नवीकरणका लागि बिमा समितिमा आउनुपर्ने बाध्यताको अन्त्य भएको छ । अब देशभरका जुनसुकै स्थानमा रहेका बिमा सर्भेयर र बिमा अभिकर्ताले आफू रहेको स्थानबाट नै अनलाइन प्रणालीबाट इजाजत पत्र नवीकरणका लागि लाग्ने शुल्क बुझाउन र अनलाइनबाटै इजाजत पत्र नवीकरण भएको जानकारी प्राप्त गर्न सक्नेछन् ।

हाल देशभरमा गरी नवीकरण योग्य बिमा सर्भेयरको सङ्ख्या करिब एक हजार दुई सय पचास र बिमा अभिकर्ताको सङ्ख्या करिब तीन लाख रहेको छ ।

https://ujyaalonepalnews.com/archives/18020

Previous articleमहसुल नबुझाएका ग्राहकहरूबाट ४८ लाख रुपैयाँ असुल
Next articleफोनिज अध्यक्षमा गजुरधन राई निर्वाचित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।