सबै सामुदायिक विद्यालयमा शुद्ध र स्वच्छ खानेपानीको व्यवस्था गर्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी

काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले सबै सामुदायिक विद्यालयमा शुद्ध र स्वच्छ खानेपानीको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

विश्व खानेपानी दिवसका अवसरमा सुन्दरीजलस्थित मेलम्ची खानेपानी प्रशोधन केन्द्रमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले मौलिक हकका रुपमा रहेको स्वच्छ खानेपानी र सरसफाइको पहुँच सबैमा पुर्‍याउन सरकार प्रयासरत रहेको बताउनुभयो ।

मन्त्री चौधरीले जङ्गल विनाश, वातावरण प्रदूषण, बढ्दो सहरीकरण, जनसङ्ख्या वृद्धिजस्ता कारणले पानीको मुहान सक्दै गएको र भूमिगत जल सतहको स्तर घट्दै गएकाले पानीको संरक्षणमा सबैको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रदूषण र भूमिगत जल सतहको स्तर घटेकाले तराइमा आर्सेनिक र आइरन युक्त पानी खानुपर्ने बाध्यता रहेकोले अव देशैभर खानेपानीको परीक्षण गरिने जानकारी दिनुभयो ।

पानी संरक्षण गरी पहाडमा पानीको मूल सुक्न नदिन र तराइमा भूमिगत जलस्तरको सतह घट्न नदिन पानी संरक्षण अभियान सञ्चालन गरिने मन्त्री चौधरीले जानकारी दिनुभयो ।

उहाँले यही चैत्र भित्रमा मेलम्चीको पानी काठमाडौँ ल्याउने गरी काम भइरहेको दोहोर्‍याउनु हुँदै याङ्री र ल्यार्केको पानी थप गरी काठमाडौँ ल्याउने विषयमा काम अघि बढाइएको उल्लेख गर्नुभयो ।

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले शुद्ध खानेपानीमा नागरिकको सहज पहुँचका लागि सरकारले आवश्यक नीतिगत व्यवस्था गरिरहेको जानकारी दिनुभयो ।

त्यस अवसरमा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सूर्य राज कँडेल, खानेपानी संस्थानका अध्यक्ष गुणाखर भुसाल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धव तिमल्सेना, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपाल सोफेनका अध्यक्ष अनिलभद्र खनाल, बिपी सङ्ग्रहालयका अध्यक्ष परशुराम पोखरेललगायतका वक्ताले सतही पानी प्रदूषण भइरहेको र भूमिगत पानीको जलस्तर घट्दै गएकोले पानीको मुहान संरक्षण र पुनरभरणमा ध्यान दिन आवश्यकता रहेको बताउनुभयो ।

खानेपानीको ५० प्रतिशत स्रोत र सिँचाइको ४० प्रतिशत स्रोत भूमिगत पानी भएकोले भूमिगत जल संरक्षणमा ध्यान दिनुपर्नेमा पानी विज्ञहरूले जोड दिनुभएको छ ।

खानेपानी मन्त्री चौधरीले खानेपानीको विषयमा आयोजित विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद १० हजार, ७ हजार र ५ हजारका साथै प्रमाणपत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले लेख्नुभएको पानी र जीवनको यात्रा अनन्त शीर्षकको गीत र गुरुकुल नाट्यालयका तर्फबाट रुन्चे धारो गीतिनाटक प्रस्तुत गरिएको थियो । 

https://ujyaalonepalnews.com/archives/18023

Previous articleफोनिज अध्यक्षमा गजुरधन राई निर्वाचित
Next article४४ जनामा कोरोना सङ्क्रमण, एकको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।