कृषि क्षेत्रको लागत मूल्य घटाउन आवश्यक: कृषि विज्ञहरू

0
55

जनकपुरधाम । किसानहरूले कृषि क्षेत्रमा बढ्दो लागत मूल्य नघटाएसम्म मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन कठिन हुने बताउनुभएको छ ।

राष्ट्रिय कृषक समूह महासङ्घ नेपालको आयोजनामा पर्यावरणीय कृषि प्रणाली प्रवर्द्धन अभ्यास साना तथा सीमान्तकृत किसानहरूको सवालमा केन्द्रित भएर आज जनकपुरधाममा सम्पन्न भएको किसानहरूको प्रदेश स्तरीय भेलामा नेपालमा कृषि उत्पादनको लागत बढी हुने र भारतबाट कृषि उत्पादन सस्तोमा आयात हुने गरेका कारणले नेपाली किसानहरू थप मारमा पर्ने गरेको बताउनुभयो ।

सहभागी किसानहरूले समयमा मल खाद्य, उन्नत बीउ विजन तथा सिँचाइ नपाएका कारणले कृषि क्षेत्रबाट अपेक्षा अनुसारको उत्पादन हुन नसकेको कारणले कतिपय किसानहरू कृषि पेसाबाट पलायन हुनु परेको बताउनुभयो ।

कार्यक्रममा मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले थोरै बजेटबाट प्रदेश सरकारले कृषि क्षेत्रको विकासका लागि कैयन कामकाज गरिरहेको बताउँदै कृषि सडकको निर्माण, कृषकलाई विभिन्न प्रकारको अनुदान तथा दूध मिसन अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको बताउनुभयो ।

प्रदेश नंं २ को नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले विभिन्न प्रकारको कार्यक्रमहरू सञ्चालन गरेको बताउनुभयो ।

मधेस प्रदेश सभामा रहेको भूमि व्यवस्था, कृषि विकास समितिका सभापति मदन सेन श्रीवास्तवले भारतबाट खाद्यान्न आयातमा रोक लगाएपछि मात्र मुलुकमा कृषि उत्पादन बढ्नुका साथै किसानले उचित मूल्य पाउने धारणा राख्नुभयो ।

राष्ट्रिय कृषक समूह महासङ्घका नेपालका प्रदेश नंं २ का अध्यक्ष मुक्तिनारायण यादवको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव एवं महाशाखा प्रमुख ललन कुमार सिंहले स्थानीय तहमा रहेको कृषि शाखालाई बलियो बनाउन आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा मधेस प्रदेशका ८ जिल्लाका अगुवा किसानहरू सहभागी रहनु भएको थियो । कार्यक्रममा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरिएको कार्यक्रमका संयोजक दिलीप कुमार साहले जानकारी दिनुभयो ।

https://www.ujyaalonepalnews.com/archives/18069

Previous articleगाडीमा छुटेको तीन लाख ५० हजार सम्बन्धित धनीलाई बुझाइयो
Next articleचीनबाट २३२ मेट्रिक टन रासायनिक मल भित्रियो