प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भयो : प्रवक्ता डा महत

नुवाकोट- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भएको बताउनुभएको छ ।

शनिबार शिवपुरी गाउँपालिकाद्वारा निर्मित भवन उद्घाटन कार्यक्रममा उहाँले भन्नुभयो, “यसअघिको ओली सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको रु १९-२० अर्ब रकमको व्यापक दुरुपयोग भएको छ, यसबाट कुनै रोजगारी सिर्जना भएको छैन ।”

ओली सरकारले आफ्ना कार्यकर्तालाई रकम बाँड्नलाई मात्र यो कार्यक्रम ल्याएको र मनपर्दो ढङ्गबाट सो आयोजनाको रकम बाँडेर सकिएको उहाँको आरोप थियो ।

प्रवक्ता महतले सो आयोजनाको रकम बाँड्ने क्रममा तिमी कुन पार्टीको मान्छे हो भनेर सोधेरै आफ्नो पार्टीका मान्छेलाई मात्र सो रकम दिने गरिएको उहाँले बताउनुभयो । कुनै पारदर्शी योजनाबिना नै सो आयोजना ल्याइएको र सडकको फोहर टिप्ने तथा झार उखेल्ने काम लगाएर आफ्ना कार्यकर्तालाई रकम बाँडिएको उहाँले बताउनुभयो ।

उहाँले ओली सरकारका पालमा कयौँ अनियमिता भएका र जसका कारण देश आर्थिकरूपमा तहसनहस हुन पुगेको बताउनुभयो ।

भ्रष्टाचार, अनियमितता तथा कम्युनिष्ट सरकारका अनेक ज्यादतिका कारण नागरिक अत्तालिएर कांग्रेसको नेतृत्वमा सरकार खोजेका र वर्तमान सरकार निर्माण भएको उहाँले बताउनुभयो ।

उहाँले आगामी सबै निर्वाचनहरूमा नेपाली कांग्रेस नै पहिलो पार्टी हुने भन्दै यसका लागि कांग्रेसका कार्यकर्तालाई एकजुट भएर लाग्नु पनि आग्रह गर्नुभयो ।

https://ujyaalonepalnews.com/archives/18129

Previous articleऊर्जा सङ्कटको असरः निर्माणाधीन आयोजनालाई शीघ्र सम्पन्न गर्न सकारात्मक दबाब
Next articleएमसिसीका विषयमा छरिएको भ्रमका पछि नलाग्न सञ्चारमन्त्रीको आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।