कोरोनाको कारण दुई वर्ष सम्म हुन नसकेको विक्रमबाबा मेला यसपटक हुने

0
72

उज्यालो नेपाल, चैत १४- कोरोना महामारीको कारण विगत २ वर्षदेखि हुन नसकेको विक्रमबाबा मेला यसपटक हुने भएको छ । कोरोना महामारीको त्रास कम हुँदै गएपछि चैते दसैँको अवसरमा लाग्ने गरेको विक्रम बाबा मेलाको तयारी सुरु गरिएको हो ।  विक्रम बाबा मेला व्यवस्थापन समिति र चितवन राष्ट्रिय निकुञ्जले छलफल गरेर दुई वर्षदेखि रोकिएको विक्रम बाबा मेला यस वर्ष सञ्चालन गर्न लागेको बताईएको छ।

चितवन राष्ट्रिय निकुञ्जको कसरा क्षेत्रमा लाग्दै आएको विक्रम बाबा मेला यस वर्ष चैत १८ गतेदेखि वैशाख ३ गतेसम्म सञ्चालन गर्ने तयारी भएको छ । चैते औँसीदेखि पूर्णिमासम्म १५ दिन निकुञ्ज क्षेत्रमा मेला लाग्ने गर्छ । मेलामा चितवन आसपासका  हजारौं भक्तजनहरुको भिड लाग्ने गरेको छ ।

जानकारहरुका अनुसार विक्रमबाबा थारु समुदायका ‘गुरौ’ हुन् । थारु जातिमा झारभुक, जडिबुटीको काम गर्ने बैध जस्तै व्यक्तिलाई ‘गुरौ’ भनिन्छ । जंगलमा जडिबुटी खोज्ने यात्रा र साधानाकै क्रममा विक्रमबाबाको थान रहेको ठाउँमानै उनले देह त्यागेको बताइन्छ । दैवी शक्ति भएका कारणले उक्त देह त्याग गरेको स्थानमा बेला बखतमा विभिन्न भाडाकुँडा, माटाका आकृतियुक्त खपेटाहरु त्यहाँ चमत्कारिकरुपमा उत्पन्न हुने गरेको बताइन्छ ।

ती खपेटाहरु अझै पनि त्यहाँ रहेका छन् भने केही संरक्षणको अभावमा हराएर गएका छन् । विक्रमबाबा पछिका केही ‘गुरौ’ मा सपनामा विक्रमबाबा आएर मलाई त्यहाँ आएर सम्झ जसले सबैको भलो हुन्छ भनेपछि सुरुवाती समयमा थारु समुदायका मानिसहरु गएर त्यहाँ पूजा–आजा गर्ने गरेको बताईन्छ । समय क्रम संगै अन्य समुदायका मानिस पनि विक्रमबाबा मेलामा सहभागी हुन थालेका हुन् ।

 

 

 

https://www.ujyaalonepalnews.com/archives/18159

Previous articleस्थानीय तह निर्वाचनः तमलोपाद्वारा १५ बुँदे घोषणापत्र जारी
Next articleन्यायमा आम नागरिकको पहुँच बढ्यो : राष्ट्रपति भण्डारी