स्थानिय निर्वाचन २०७९: यस्तो छ रत्ननगर १५ को चुनावी हिसाबकिताब

निराजन घिमिरे, चैत १५, चितवन- सरकारले आउँदो वैशाख ३० मा तोकेको स्थानिय निर्वाचन आउन अब ४५ दिन मात्र बाँकी छ ।  राजनैतिक दलहरुले चलाएको चुनावी अभियान हेर्दा अब लगभग देश चुनावमा होमिएको भान हुन्छ ।  चुनावको मिति नजिकिंदै गर्दा मतको जोड-घटाउ सुरु भईसकेको छ । चितवनको रत्ननगर नगरपालिका वडा नं. १५ मा पनि कुन दलले यो चुनावमा नतिजा हातपार्ला भन्ने अनुमान सुरु भएका छन् ।

२०७४ सालको स्थानिय निर्वाचनमा  चार वडा सदस्य सहित वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवारहरु निर्वाचित बनेका थिए ।  तर यो पटक अवस्था फेरिएको छ । एमाले फुटेर समाजवादी जन्मिएपछि यसले चुनावी मतपरिणाममा पक्का पनि असर पार्नेछ भन्ने अनुमान गर्न सकिन्छ ।  यस अघिको निर्वाचनमा कुल २६४३ मत खसेको यस वडामा एमालेका उम्मेदवार हुमनाथ लामिछानेले १००१ मत ल्याएर विजय हासिल गरेका थिए ।  उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका केदारमान वाईबाले ८२८ मत प्राप्त गरेका थिए ।

त्यस्तै तेश्रो शक्तिको रुपमा रहेको माओवादी केन्द्रका उम्मेदवार द्रोणप्रसाद लामिछानेले ७६४ मत प्राप्त गरेका थिए । यसैगरी राप्रपा, माले, जनजागरण पार्टी र नयाँ शक्ति पार्टीका उम्मेदवारले कुल ५० मत प्राप्त गरेका थिए । यो पटकको चुनावमा समाजवादीले पनि आफ्नो उपस्थिति जनाउंदै छ । एमाले फुटेर बनेको यो नयाँ पार्टी कै कारण चुनावी नतिजामा खासै असर पर्ने नदेखिएता पनि सत्ता गठबन्धन चुनाब सम्म नै कायम रहेमा भने यसले नतिजामा प्रभाव पार्ने देखिन्छ ।

अघिल्लो चुनावको नतिजालाई आधार मानेर हेर्ने हो भने गठबन्धनमा रहेका कांग्रेस र माओवादीको भोट १५९२ छ । जँहा चुनाव जितेको एमालेले १००१ भोट मात्र पाएको छ । अझ एमाले बाट चोईटिएको समाजवादीका कारण एमालेको केहि मत घट्ने पक्का छ । यस्तो अवस्थामा गठबन्धनले जित हातपार्ने पक्का जस्तै देखिन्छ ।

तर एमाले र माओवादी मिलेर बनेको नेकपाको विघटन संगै सर्वोच्च अदालतले एमाले ब्युँताईदिएपछी एकताका बखत एमाले बनेका केहि माओवादी समर्थक एमालेमै रहेको र एमसीसीका कारण कांग्रेसको मत घट्ने भएको कारण गठबन्धन कायम रहेपनि एमालेको सम्भावना पनि उत्तिकै रहेको एकथरिको बुझाई छ ।

यदि गठबन्धन कायम रहेको अवस्थामा साबिक पिठुवा ( हाल रनपा १४,१५ र १६ ) लाई भागबण्डा गरेर जाने दलहरुको तयारी देखिन्छ । त्यस्तो अवस्थामा वडा नं. १४ कांग्रेसलाई, १५ समाजवादीलाई र १६ माओवादीलाई पर्ने गरि भागबण्डाको तयारी गरिएको बुझिएको छ । यदि यसरी नै भाग लागेको अवस्थामा समाजवादीका उम्मेदवारलाई कांग्रेस र माओवादीका सबै मतदाताले भोट हाल्छन भन्ने कुरामा विस्वस्त रहन सकिन्न ।

एकातिर गठबन्धन र अर्को तिर आफु रहने स्थिति बन्ने हो भने एमालेले पनि कमजोर उम्मेद्वारलाई टिकट नदिने पक्का छ । वडामा हाल झन्डै आधा दर्जन एमाले नेता टिकट हत्याउने दौडमा छन् ।  यदि एमालेले निस्कलंक र लोकप्रिय उम्मेद्वार खडा गर्ने हो भने पनि अघिल्लो चुनाबको नातिजालाई आधार मान्दा वैशाख ३० गतेको चुनावमा एमालेको लागी गठबन्धन भारी पर्ने देखिन्छ ।

https://ujyaalonepalnews.com/archives/18173

Previous articleरत्ननगर अस्पतालमा मातृशिशु अस्पताल बन्दै, मेयर वनले गरे उद्घाटन
Next articleकांग्रेस केन्द्रीय समिति बैठकमा चुनावी तालमेलको बहस
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।