जिल्ला अदालत अछामले बलात्कारको झूटो आरोप लगाउने एक युवतीलाई जेल सजाय सुनाएको छ । अदालतले सहमतिमै यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी किशोरीलाई जेल सजाय सुनाएको हो ।
अछामको कमल बजार नगरपालिका निवासी १९ वर्षीया ती किशोरीलाई जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीको इजलासले साढे तीन वर्ष लामो जेल सजाय सुनाएको हो । ती किशोरीले आफ्नो घरमै बिहेको प्रस्ताव लिएर आएका रामारोशन गाउँपालिका निवासी २० वर्षीय पुरुषमाथि बलात्कार अभियोगसहित मुद्दा हालेकी थिइन् ।
गत माघ १५ गते बिहेका लागि माग्न आएका ती पुरुष र किशोरीबीच सहमतिमै यौनसम्बन्ध भएको थियो । तर उनले आफूमाथि बलात्कार गरेको आरोपसहित घटनाको दुई दिनपछि उनले जवरजस्ती करणीसम्बन्धी जाहेरी जिल्ला प्रहरी कार्यालय अछाममा दर्ता गराएकी थिइन् ।
बिहेको प्रस्ताव लिएर आएका ती पुरुष र आफू रातको समयमा एउटै कोठामा सुतेको अवस्थामा बलात्कार गरेको दाबी ती किशोरीको थियो । एकै कोठामा अलग अलग सुते पनि राति आफूलाई जवरजस्ती करणी गरेको जिकिर उनको थियो ।
‘फोनमार्फत कुरा हुने गरेको थियो। प्रेम भएपछि युवक घरमा बिहेको प्रस्ताव लिएर आए। घरमा आमासँग विवाहको कुराकानी गरे। युवक राति त्यहीँ घरमा बसे।’ किशोरीले बयानका क्रममा भनेकी थिइन्। उनले युवक भुइँमा र आफू बहिनीसँग सुतेको अवस्थामा राति बलात्कार गरेको आरोप लगाएकी थिइन्। तर, युवकले बलात्कार नभएर सहमतिमा यौन सम्पर्क भएको बयान दिएका थिए।
विवाह प्रस्ताव लिएर पुगेका उनीहरू विवाह नगरी फर्किएका थिए। युवकले आफन्तको निधन भएका कारण विवाह नगरी फर्किएको बताएका थिए । सुरूमा बलात्कार आरोप लगाउने किशोरीले पछि विवाह नगर्ने हो कि भन्ने त्रासले मुद्दा दायर गरेको बताएकी थिइन् ।
सहमतिमा भएको यौनसम्पर्कलाई बलात्कार मान्न नसकिने अदालतको ठहर छ । किशोरीको उजुरीपछि बलात्कार आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय युवकले सफाइ पाएका छन् ।
https://ujyaalonepalnews.com/archives/18233


