हामी गठबन्धनको पक्षमा छैनौँ : वरिष्ठ उपाध्यक्ष पोखरेल

चितवन- नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको बताउनुभएको छ । प्रेस चौतारी चितवनले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “तपाईंहरु एकदम प्रष्ट हुनुहोला, नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन ।”

स्थानीय आवश्यकताअनुसार सहमति हुनसक्ने उल्लेख गर्दै उहाँले केन्द्रबाट कुनै पनि दलसँग गठबन्धन नगर्ने बताउनुभयो । “स्थानीय आवश्यकताअनुसार लोकल एडजस्टमेन्टको कुरा हुन सक्ला, त्यो आज मात्रै होइन”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, “विसं २०४८ को संसदीय निर्वाचनमा पनि लोकल एडजस्टमेन्टका अभ्यास हामीले गर्ने कोशिस गरेका थियौँ ।” उहाँले एमाले गठबन्धनको हिसाबले नजाने भन्दै गठबन्धन नबनाउने स्पष्ट पार्नुभयो ।

“हामी गठबन्धन भएन भने सिद्धिन्छौँ भन्ने पक्षमा छैनौँ, गठबन्धनका पक्षमा निर्वाचन लड्दैनौँ”, पोखरेलले भन्नुभयो । उहाँले विचार र कामका आधारमा निर्वाचन हुने भएकाले पाँच दलको गठबन्धन आए पनि एमाले एक्लै काफी हुने जिकिर गर्नुभयो । एमालेले गरेका काम र आगामी दिनमा गर्ने कामको प्रतिबद्धताका आधारमा चुनाव जित्ने आफूहरुको प्रयत्न हुने पोखरेलले जिकिर गर्नुभयो ।

“उम्मेदवार मनोनयन दर्ता गर्ने समय दुई दिन भनिएको छ, केका लागि दुई दिन चाहियो ?”, उहाँले भन्नुभयो, “कहीँ नभएको नियम यहाँ लगाइँदैछ ।” निर्वाचन आयोगले पनि दलसँग परामर्श नै नगरी मतपत्रको रङ फेर्ने विषय अनौठो भएको उहाँको भनाइ छ ।

https://ujyaalonepalnews.com/archives/18349

Previous articleत्रिकोणात्मक टी-ट्‍वान्टी अन्तर्राष्ट्रिय श्रृंखलाको फाइनल आज : नेपाल र पिएनजीबीच प्रतिस्पर्धा
Next articleनिर्वाचनको मिति नजिकिँदै गर्दा दलहरुको सक्रियता बढ्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।