चितवन, चैत्र २३ । चितवनको रत्ननगरका मेयर नारायण वनलाई हिरो अफ मधेश अवार्ड प्रदान गरिएको छ ।
मधेशी पत्रकार समाज नेपालले मेयर वनलाई हिरो अफ मधेश अवार्डबाट सम्मान गरेको हो । तराईको जिल्ला मध्येको एक रत्ननगरका मेयर वनले आर्थिक,सामाजिक विकास र नगरको पूर्वाधार विकासमा उल्लेख्य काम गरेको भन्दै सो संस्थाले उनलाई सम्मान गरेको हो । बीरगञ्जमा आयोजित कार्यक्रमका प्रमुख अतिथि भारतीय महाबाणिज्य दुताबास बीरगञ्जका प्रमुख शैलेन्द्र कुमार र मधेशी पत्रकार समाज नेपालका अध्यक्ष मोहन कुमार सिंहले मेयर वनलाई अवार्ड प्रदान गरेका थिए । पछिल्लो पाँच बर्षे कार्यकालमा उपत्याका बाहिर पहिलो आकासे पुल निर्माण तथा जिल्लामै पहिलो बालमैत्री नगर घोषणा गर्न सफल भएका मेयर वनले गरेको कार्यमुल्याङ्कनको आधारमा सम्मान गरिएको हो ।
चितवनको पर्यटन विकासको लागि सौराहामा आर्कषक सभाहल,वडा नं ९ मा होमस्टे सहितको इको पार्क निर्माण गरेका वनले झुवानीमा वाटरकिङम निर्माण थालेका छन् । स्वास्थ्य तर्फ उनले आमा र बच्चाको सुरक्षाको लागि रत्ननगरमा मातृशिशु अस्पताल निर्माण सुरु गरेका छन् । बृद्धबृद्धालाई घरमै उपचार देखि सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएका मेयर वनले रत्ननगर अस्पतालको स्तरोन्नती गरी सेवालाई प्रभावकारी बनाउन सफल भएका छन् ।
धान पीडित किसानलाई केन्द्र र प्रदेश सरकारले भन्दा पहिले राहत दिएर चर्चा बटुलेका उनले विपन्न पशुपालक किसानहरुलाई अनुदानमा गाई वितरण गरेका छन् । नगर भित्रका चार वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्ष सुरु गरेका उनको पहलमा रत्ननगर १२ मा इन्जिनियरिङ कलेज स्थापनाको लागि पोखरा विश्व विद्यालयसंग सम्झौता गरी काम अगाडि बढाएका छन् ।
उहाँले गरेका रचनात्मक कामले देश विदेशमा राम्रो सन्देश गएको छ मधेशी पत्रकार समाज नेपालका अध्यक्ष सिंहले भने- ‘देशभरका मेयर मध्ये उहाँले गरेको काम उत्कृष्ट देखियो, त्यसैले सम्मान गरेका हौं ।’
https://ujyaalonepalnews.com/archives/18451


