
चितवन । चितवनको भरतपुरमा आज ४६ भूमिहीन दलित घरपरिवारलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।
भरतपुर महानगरपालिका वडा न २ का ४६ घरधुरी भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास निर्माण, समृद्धि र सुकुम्वासी समस्या समाधान गर्ने काममा हातेमालो गर्न सबैलाई आग्रह गर्नुभयो ।


सहमति, सहकार्य र एकताबाट अहिलेको अवस्थासम्म आइपुगेको भन्दै अध्यक्ष प्रचण्डले अबको विकास निर्माण, समृद्धि र भूमिसम्बन्धी समस्या समाधान पनि सबैको सहमति, सहकार्य र एकताबाट मात्रै सम्भव रहेको पनि बताउनुभयो ।
कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले संविधानमा भएका कुरा कार्यान्वयन गर्न आफूहरू प्रतिबद्ध भएर लागिरहेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले भूमिसम्बन्धी सम्पूर्ण समस्या दिगो रुपमा नै समाधान गर्न आफूहरू लागिरहेको भन्दै सबैको साथ, सहयोगबाट भूमिहीन दलित र सुकुम्वासीलाई लालपुर्जा वितरण गर्न सम्भव भएको बताउनुभयो ।

यसअघि सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ९ को मुसहर बस्तीमा १०६ भूमिहीन दलित घर परिवारलाई लालपुर्जा वितरण गरिसकिएको छ ।
यस्तै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मन्त्रालय सम्हालेपछि ४ महिनाको अवधिमा गाउँ ब्लकमा रहेका २० हजारभन्दा बढी घरपरिवारलाई लालपुर्जा वितरण गरिसकिएको छ ।
https://ujyaalonepalnews.com/archives/18463


