नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको महाधिवेशन शुरु

काठमाडौँ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो महाधिवेशन बुधवारदेखि काठमाडौँमा शुरु भएको छ ।

दुई दिनसम्म चल्ने अधिवेशनको उद्घाटन गर्दै प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले औद्योगिकीकरण मार्फत मुलुकको आर्थिक विकासमा योगदान हुने गरी क्रियाशील हुन उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।

पूर्व प्रधानमन्त्री ओलीले अत्याधुनिक प्रविधि सहितको उद्योगको विकासले मात्र मुलुकको औद्योगिकीकरण गर्न र जनताको जीवनस्तर सुधार्न सकिने पनि उल्लेख गर्नुभयो ।

नेपालमा हुने उत्पादन अन्तर्राष्ट्रिय गुणस्तरको र प्रतिस्पर्धी तथा आफ्नो बजार आफै बनाउन सक्ने गरी बनाउन पनि उद्योगी व्यवसायीहरूलाई पूर्व प्रधानमन्त्री आलीले आग्रह गर्नुभयो ।

उहाँले नेपालीहरूले कच्चा पदार्थ नभई गुणस्तरीय सामान निर्यात गरेर अन्तर्राष्ट्रिय बजारमा आफ्नो स्थान बनाउन पहल गर्नु आवश्यक भएकोमा पनि जोड दिनुभयो ।

कार्यक्रममा नेकपा एमाले स्थायी समिति सदस्य भानुभक्त ढकालले आफ्नो पार्टी विकास र समृद्धिको पक्षमा रहेको भन्दै यस अभियानमा उद्योगी व्यवसायीहरूले समेत भूमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा उद्योगी मोतीलाल दुगडले विदेशमा काम गरेर प्राप्त हुने रेमिटेन्सले मात्र देश नचल्ने भएकोले स्वदेशमा लगानी गरी रोजगारीको माध्यमबाट मुलुकको विकासमा योगदान गर्ने गरी क्रियाशील हुन उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले स्वदेशमा लगानी गरी निर्यात मार्फत व्यापार घाटा कम गर्न र देशमा रोजगारी निर्माण तथा राजस्व परिचालनमा योगदान गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।

महासङ्घका अध्यक्ष एल पी सावाँ लिम्बुले नेपालको एक स्थानमा भएको उत्पादनलाई सजिलै अर्को स्थानमा पुर्‍याउन तथा बजार निर्माण मार्फत मुलुकको अर्थतन्त्रमा योगदान गर्ने गरी क्रियाशील हुन प्रतिनिधि सदस्यहरूलाई आग्रह गर्नुभयो ।

“जिम्मेवार व्यवसाय, विकास र समृद्धि हाम्रो प्रतिबद्धता, लगानी सुनिश्चितता र रोजगारीको सृजना आजको आवश्यकता” भन्ने नाराका साथ आयोजित महाधिवेशनले महासङ्घको नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम समेत रहेको महासङ्घका महासचिव भागिरथ सापकोटाले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/18461

Previous articleभन्सार छलीको डेढ करोडको सामानसहित दुई वटा ट्रक नियन्त्रणमा
Next articleचितवनको भरतपुरमा भूमिहीन दलितलाई लालपुर्जा वितरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।