
काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपालको अर्थतन्त्र बजार हल्ला भएजस्तो कमजोर नभएको भन्दै व्यवसायीलाई नआत्तिन आग्रह गर्नुभएको छ ।
काठमाडौँमा आज भएको काठमाडौँ विद्युतीय व्यवसायी सङ्घको १२औँ वार्षिक साधरणसभालाई सम्बोधन गर्नुहुँदै मन्त्री झाँक्रीले देशको अर्थतन्त्रलाई लिएर आत्तिइहाल्नुपर्ने अवस्था नभएको प्रष्ट पार्नुभयो ।
उहाँले विद्युतीय चुल्होको प्रयोग बढाई पेट्रोलियम पदार्थको प्रयोगलाई घटाउनुपर्ने र स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने सरकारको नीति रहेको बताउनुभयो ।
कार्यक्रममा, नेपाल विद्युतीय व्यवसायी महासङ्घका अध्यक्ष सुदर्शन पौडेलले सरकारले व्यवसायीक हित र स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने नीतिको प्रभावकारी कार्यान्वयन र अनुगमन गर्नुपर्ने बताउनुभयो ।
उहाँले सरकारले विद्युतीय चुल्होमा अनुदान दिएर विद्युत्को प्रयोगलाई बढाई पेट्रोलियम पदार्थको आयत घटाउँदै विदेशीने अर्थतन्त्र जोगाउनुपर्ने पर्नेमा जोड दिनुभयो ।
काठमाडौँ विद्युतीय व्यवसायी संघका अध्यक्ष सरोज कुमार रेग्मीले बैङ्क तथा वित्तीय संस्थाले पटक पटक ब्याजदर बढाउँदा व्यवसायी मर्कामा परेको बताउनुभयो ।
उहाँले बिजुलीका सामग्रीलाई स्वदेशमा नै उत्पादनमा सहजीकरण गरी प्रवर्द्धनमा सहयोग पुर्याउन सरकारलाई आग्रह गर्नुभयो ।
उहाँले देशभरका जिल्ला शाखाबाट सहभागी विद्युतीय व्यवसायीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिबाट बच्न विद्युतीय चुल्होको प्रयोगलाई प्राथमिकतामा राख्न माग गर्नुभयो ।
कार्यक्रममा विद्युतीय क्षेत्रमा योगदान गर्ने विभिन्न व्यवसायीलाई सम्मान समेत गरिएको थियो ।
https://ujyaalonepalnews.com/archives/18624


