विद्युतीय दुर्घटना न्यूनीकरणमा जुट्न आग्रह

सुर्खेत । नेपाल विद्युत् प्राधिकरण सुर्खेत शाखाले विद्युतीय दुर्घटनाबाट जोगिन र सचेतना फैलाउन विविध कार्यक्रम गरी ‘विद्युत् सुरक्षा दिवस’ मनाएको छ ।

प्राधिकरणले शनिबार सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा दिवसको अवसर पारेर ‘विद्युतीय दुर्घटनाबाट बचौँ र बचाऔँ’ भन्ने नारासहित प्रभात फेरी निकालेर विद्युतीय दुर्घटना न्यूनीकरणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गरेको छ ।

सेवाको सहज पहुँच विस्तार, गुण स्तरीय सामानको प्रयोग, किफायती उपभोग एवं चुहावट नियन्त्रण कार्यलाई उपभोक्तामाझ सचेतना र जागरूकता ल्याउँदै विद्युतीय दुर्घटनामा कमी ल्याउनु दिवसको मुख्य उद्देश्य रहेको प्राधिकरण सुर्खेत शाखा प्रमुख इन्जिनियर युवराज रावतले बताउनुभयो ।

विद्युत् कार्यालय परिसरमा विद्युत् वितरण प्रणालीमा कार्यरत जनशक्तिलाई विद्युतीय सुरक्षाको महत्त्व, सुरक्षात्मक उपकरणको प्रयोग, विद्युत् माग र आपूर्ति पक्षको व्यवस्थापन गर्ने लगायतको बारेमा जानकारी गराइएको थियो ।

मञ्चका सुर्खेत प्रतिनिधि कुमारी भुसालले विद्युतीय दुर्घटनाबाट जोगिन र सचेत रहन व्यवहारिक रूपमै अहिलेसम्म उपभोक्तालाई विद्युत् प्राधिकरणले सचेतना फैलाउन नसकेको बताउनुभयो ।

हरेक वर्ष विद्युत् सुरक्षा दिवस मनाउँदै आएको प्राधिकरणले आफ्नै प्राविधिक कर्मचारीको सुरक्षामा समेत ध्यान पुर्‍याउन नसकेको कर्मचारीबाटै गुनासो आउने गरेको छ ।

सरदर वर्षभरि दुई सय बढी मानिसको विद्युतीय दुर्घटनामा परी मृत्यु हुने गरेको अनुमान छ । कतिपय विद्युतीय घटनाहरू रेकर्डमा नआउने भएकाले यो सङ्ख्या अझै ठूलो हुनसक्ने बताइएको छ ।

https://ujyaalonepalnews.com/archives/18626

Previous articleविद्युतीय चुल्होको प्रयोग बढाउन व्यवसायीको माग
Next articleयात्रुवाहक बसबाट लाखौँ मूल्य बराबरका भाँडाकुँडा नियन्त्रणमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।