काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्य वृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायतका समस्याको वैज्ञानिक समाधान खोजिने बताउनुभएको छ ।
पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत विभिन्न सङ्गठनका प्रतिनिधिहरूसँग आइतबार मन्त्री निवास पुल्चोक ललितपुरमा कुराकानी गर्नुहुँदै मन्त्री बडूले पेट्रोलियम पदार्थको क्षेत्रमा विश्वभर देखिएको सङ्कटको असर नेपालमा पनि परेकोले यसको वैज्ञानिक व्यवस्थापनका लागि सरकारले काम गरिरहेको बताउनुभयो ।

उहाँले यस क्षेत्रमा कार्यरत उद्योगी व्यवसायी र ढुवानीकर्ताहरूको समस्या एवं माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको स्पष्ट पार्नुहुँदै सबै मिलेर पछिल्लो समय पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधान हुनेमा उपभोक्तालाई आश्वस्त पार्नुपर्ने बताउनुभयो ।
नेपाल एल. पी. ग्यास उद्योग सङ्घ, नेपाल पेट्रोलियम ढुवानी महासङ्घ र पेट्रोलियम पदार्थ डिलर्श एसोसिएसनका प्रतिनिधिहरूले पछिल्लो समय देखिएका समस्या र समस्या समाधानका लागि मन्त्रीलाई संयुक्त रुपमा ध्यानाकर्षण गराउनुभयो ।
उहाँहरूले मन्त्रीलाई नयाँ जिम्मेवारीका लागि बधाई तथा शुभकामना दिनुहुँदै उहाँको कुशल व्यवस्थापन र नेतृत्वमा अहिले देखिएका सबै समस्याको समाधान हुनेमा आफूहरू विश्वस्त रहेको धारणा समेत राख्नुभयो ।
https://ujyaalonepalnews.com/archives/18684


