पाँच महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछ : मन्त्री आले

कास्की । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आगामी पाँच महिना भित्रमा पोखरामा बन्दै गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताउनु भएको छ । 

पोखरामा आज देखि सुरु भएको फेवा महोत्सवको उद्घाटन गर्दै विमानस्थलको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भई सकेको जानकारी गराउँदै उहाँले विमानस्थल सञ्चालनका लागि अवरोधका रुपमा रहेको रिट्ठेपानी डाँडो काट्ने काम फास्ट ट्र्याकमा अगाडि बढ्ने बताउनु भयो । क्यान (नेपाल नागरिक उड्डयन प्राधिकरण) सँग सल्लाह गरेर डाँडो काट्ने काम छिटै अगाडि बढाउँछु, उहाँले भन्नुभयो  ।

यससँगै पोखराको ल्याण्डफिल साइट नयाँ स्थानमा व्यवस्था गर्न समेत उहाँले पोखरा महानगरलाई आग्रह समेत गर्नु भएको छ । यस्तो काम छिटो गरे विमानस्थल समयमै सञ्चालनमा ल्याउन सहज हुने उहाँको भनाई थियो । लेकसाइड स्थित रत्न मन्दिर र हिमागृह नयाँ वर्षको वैशाख महिना भित्र सञ्चालनमा ल्याइने प्रतिबद्धता जनाउनु भएको छ । 

कोभिड–१९ सँगै पर्यटन र खासगरी होटल क्षेत्र निकै मारमा परेको आफूले महसुस गरेको भन्दै यही बेला अर्थतन्त्र समेत धराशायी बन्दै जानु दुःखद भएको बताउनु भयो । 

पोखराको पर्यटन बसपार्क औपचारिक रुपमा सञ्चालनमा ल्याउन निर्देशन दिँदै उहाँले पोखरामा सम्पन्न हुन लागेको एड्भेञ्चर टुरिजम मार्टका लागि आफ्नो मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।  

पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने विषयलाई आगामी बजेट अघिको नीति तथा कार्यक्रममा समेट्ने बताउनु भयो । १७ औँ संस्करणको महोत्सवमा देश तथा विदेशका पाहुनाले अहिले होटलहरु भरिभराउ भएका छन् । महोत्सवमा विभिन्न स्टलहरू समेत राखिएका छन् । 

https://ujyaalonepalnews.com/archives/18823

Previous articleजनताको हितलाई केन्द्रमा राखेर वस्तु तथा सेवाको कारोबार गर्न आग्रह
Next articleनयाँ वर्ष २०७९ भव्य रुपमा मनाइँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।