जनताको हितलाई केन्द्रमा राखेर वस्तु तथा सेवाको कारोबार गर्न आग्रह

काठमाडौँ  ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योगी व्यवसायीले नाफा मात्र नभई जनताको हितलाई केन्द्रमा राखेर वस्तु तथा सेवाको कारोबार गर्नुपर्ने बताउनुभएको छ । 

आज निजी क्षेत्रका विभिन्न संगठनहरुसँगको छलफलमा मन्त्री बडूले व्यावसायिक सङ्गठनले व्यावसायिक हितसँगै जनता र राष्ट्रको हितलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो । 

उहाँले बजारमा ग्याँसलगायत उपभोग्य वस्तुहरूको अभाव र अत्यधिक मूल्य वृद्धि भइरहेको जनगुनासो बढिरहेकाले यसको सहजताका लागि सरकारलाई सहयोग गर्न ग्याँस बिक्रेतालगायत व्यवसायीलाई आग्रह गर्नुभयो । 

उहाँले उद्यमशीलताको विकास, दक्ष जनशक्ति उत्पादन, ग्रामीण क्षेत्रका महिला तथा युवाहरूलाई आत्मनिर्भर बनाउन नतिजामूलक काममा जोड दिनुपर्ने समय आएको बताउनुभयो । 

उहाँले आयातमुखी अर्थतन्त्रले जुनसुकै बेला समस्या आउन सक्ने भएकाले स्वदेशी उत्पादन र ग्रामीण उद्यमशीलतामार्फत आत्मनिर्भर बन्ने कार्यमा सरकार जस्तो सुकै सहयोग गर्न तयार रहेको पनि बताउनुभयो । जसले स्वदेशमा नै रोजगारीको अवसर सृजना भई आवश्यक वस्तुको उत्पादनबाट आंशिक रुपमा भए पनि आयात प्रतिस्थापन हुने र यसले समग्र अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

आज चेम्बर अफ कमर्स, नेपाल इँटा उद्योग महासङ्घ, दक्षिण एसियाली महिला विकास मञ्च, ग्यास बिक्रेता महासङ्घ नेपालका प्रतिनिधिहरूले माननीय मन्त्रीज्यूलाई बधाई तथा शुभकामना दिँदै विभिन्न समस्याका बारेमा ध्यानाकर्षण गराउनुभएको थियो ।

https://ujyaalonepalnews.com/archives/18819

Previous article‘बीमाप्रतिको विश्वास अभिवृद्धि गर्न बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि’
Next articleपाँच महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछ : मन्त्री आले
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।