रियाद बाट सिधा उडान गर्न नेपाल एअरलाइन्सले पायो अनुमती

काठमाण्डाै – नेपाल वायुसेवा निगमले साउदी अरेबियामा नियमित उडान गर्ने भएको छ । निगमका अनुसार आउँदो वैशाख ९ गते पहिलो उडान हुनेछ । नेपाल वायुसेवाको राष्ट्रिय ध्वजावाहक विमानले पहिलो पटक साउदी अरेबियाको रियादमा नियमित उडान गर्न लागेको हो ।

यो उडानका लागि नेपाल नागरिक उड्डययन प्राधिकरणले पनि नेपाल वायुसेवा निगमलाई उडानको अनुमति दिइसकेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्न सक्ने गरी अनुमति पाएको छ ।

निगमले व्यावसायिक योजना अनुसार काठमाण्डौ–रियाद–काठमाण्डौ नियमित उडान सुरु गर्ने भएको हो । यो रुटमा निगमले लामो समयदेखि उडानको तयारी गरे पनि अनुमति पाएको थिएन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ध्वजावाहक विमानबाट साउदी अरेबियामा नियमित उडान भर्नका लागि पहल गर्नुभएको थियो । यसअघि हिमालय एअरलाइन्सले मात्रै साउदीमा उडान अनुमति पाएको थियो ।

https://ujyaalonepalnews.com/archives/18848

Previous articleगुठी तथा सामुदायिक जग्गाकाे अतिक्रमण रोक्न सबै निकायहरू सचेत हुनुपर्छ : प्रधानमन्त्री देउवा
Next articleकाठमाडौँ महानगरमा एमालेबाट प्रमुखको उम्मेदवारमा पाँचको नाम सिफारिस
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।